ट्रेण्डिङ

होमपेज / राजनीति

एमयूले त्रिविको कमजोरी नगरोस् - एमाले उपमहासचिव ज्ञवाली

नेपालगाथा २०८० असार २९ गते शुक्रबार २०:४९:२६ मा प्रकाशित

सुर्खेत । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञावलीले मध्यपश्चिम विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयले गरेको कमजोरी नदोर्याउन आग्रह गरे । शुरूवाती कालमा निकैं चर्चित विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालयले राजनीतिक रुपमा देशभर आंगिक क्याम्पसको सम्बन्धन दिएर आफ्नो छवि बिगारेको प्रसंग उल्लेख गर्दै मध्यपश्चिम विश्वविद्यालयलाई त्यस्तो नगर्न निर्देशन दिए ।

संस्था स्थापनाका लागि १२ वर्षको समय खासै धेरै होइन तर यो (मध्यपश्चिम विश्वविद्यालय) ले छोटो समयमा नेपालको उच्च शिक्षका क्षेत्रमा राम्रो छवि बनाउन सकेको प्रति खुशी व्यक्त गरेका नेता ज्ञवालीले अध्ययन बिना माग भएर आउने सम्बन्धनलाई कडाई गर्न सकेमा मात्र विश्वविद्यालयको साख रहनेमा जोड दिए ।

उच्च शिक्षा प्रदान गर्ने नाममा निश्चित समूह र नेताहरुबाट आउने दवावलाई हुबहू मानेर सम्बन्धन दिंदा भोलि सम्बन्ध दिएका क्याम्पस खारेज गर्नु र अघि बढाउनु भन्ने समस्या सृजना हुन्छ, उनले थपे त्यसैले सम्बन्धन दिने कुरामा निकै ख्याल गर्ने हो भने शैक्षिक गुणस्तर प्रदान गर्न र नियन्त्रण गर्न सजिलो हुन्छ ।

बढी क्याम्पस हुँदैमा विश्वविद्यालय ठूलो नहुने उल्लेख गर्दै साँस्कृतिक, धार्मिक र पर्यावरणीय केन्द्रका रुपमा रहेको कर्णालीमा फरक विषय अध्ययन गर्ने शैक्षिक संस्थाका रुपमा विकास गर्न क्याम्पस व्यवस्थापनलाई निर्देशन दिए ।

‘संस्थाका लागि १२ वर्ष ठूलो समय होईन । छोटो अवधिमा आफ्नो भौतिक पूर्वाधारमा गरेको प्रगति निकै सन्तोषजनक लाग्यो’ पूर्वपराष्ट्रमन्त्री समेत रहेका उनले भने, ‘अमेरिका, चीन लगायतका देशसँग प्रतिस्पर्धा गर्ने नाममा स्थानीय ज्ञान र सिप लोप हुँदै जाने संभावना नेपालमा बढी छ । त्यसलाई मध्यनजर गर्दै एमयूले आफ्नो पाठ्यक्रमको ७० प्रतिशत अन्तर्राष्ट्रिय विषयवस्तु, २० प्रतिशत नेपालका राष्ट्रिय विाष्यवस्तु र १० प्रतिशत स्थानीय विषयवस्तुहरु राख्नु निकै राम्रो लाग्यो ।

मलाइ लाग्छ यो प्रणाली अन्य विश्वविद्यालयका लागि पनि सिकाई हुनसक्छ ।’ नेपाल पूर्वमा किराँत, मध्यक्षेत्रमा बागमती, पश्चिममा गौतम बुद्ध र कर्णालीमा खस अर्थात् कर्णाली सभ्यता भएको देश भएकाले हाम्राे रैथाने सभ्याताको गहिरो अध्ययनमा आफ्ना शैक्षिक जनशक्तिलाई लगाउन सके देशका लागि सबै भन्दा ठूलो उपलब्धी हुने धारणा उपमहासचिव ज्ञवालीले राखे ।

नेपालका अन्य विश्वविद्यालयले गरेका कमजोरीबाट सिकेर आफूलाई अब्बल विश्वविद्यालयका रुपमा स्थापित गर्ने सुनौलो अवसर मध्यपश्चिम विश्वविद्यालयसँग भएको उल्लेख गर्दै ज्ञवालीले पछिल्लो सयम विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति र समुदायबीचको दूरी बढ्दै गएकाले त्यसलाई कम गराउने काम यसले गर्छ भन्ने विश्वास गरे ।

विश्वविद्यालय भित्र भएका भौतिक तथा शैक्षिक प्रगति र आगामी योजनाका बारेमा विश्वविद्यालयका तर्फबाट रजिष्टार नारायणप्रसाद पौडेलले जानकारी गराए । पार्टीले सञ्चालन गरेको प्रदेश स्कुल अर्थात पाँच दिने प्रशिक्षक प्रशिक्षणका क्रममा सुर्खेत पुगेका उपमहासचिव ज्ञावलीले विश्वविद्यालयले शुरु गर्न लागेको साबुन बनाउने ल्याव र जडिवुटी प्रशोधन गर्ने ल्याव, कक्षा कोठासहित विश्वविद्यालयको अनुगमन गरेको विश्वविद्यालय रजिष्टारको कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा विश्वविद्यालयका विभिन्न विभाग प्रमुखहरुले आफूले झेलेका कानूनी, नीतिगत र व्यवहारिक समस्याका बारेमा उल्लेख गर्दै त्यसमा सहयोग गर्न उपमहासचिव ज्ञवालीलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top