होमपेज / राजनीति
काठमाडौं । नेकपा एमाले सहित ४ दलले संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम बुझाएका छन् । जसमा नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी घर्ती रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाले प्रदीप यादवको नाम पठाएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सदस्यहरूको नाम अझै बुझाएकाे छैन।
राष्ट्रियसभाबाट भने कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्मा मनोनयन भइसकेका छन् ।
यसअघि समिति सदस्य संख्या निर्धारण गर्न प्रमुख दलबीचको बैठकमा सत्ता पक्षको तर्फबाट विशेष समितिमा १२ मध्ये दलहरूको सांसद संख्याको अनुपात निकाल्दा कांग्रेसबाट ३.८८ प्रतिशतले ४ सदस्य रहने र एमालेबाट एमाले ३.४९ प्रतिशतको हिसाबले ३ सांसद रहने प्रस्ताव गरिएको थियो ।
त्यस्तै माओवादी १.४१ प्रतिशत (१) सीट, रास्वपा .८४ प्रतिशत (१) सीट, राप्रपा .६२ प्रतिशत (१) सीट, जसपा .४९ प्रतिशत (१) सीटको प्रस्ताव भएको थियो ।
संसदीय समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना रहने व्यवस्था छ ।
संवैधानिक अंगका पदाधिकारी र विभिन्न देशका राजदूत नियुक्ति सिफारिसको सुनुवाइ संसदीय सुनुवाइ समितिले गर्छ । केही दिनअघि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद् बैठकले सुनुवाइ समितिसमक्ष सिफारिस गरिसकेको छ ।