होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको प्रष्ट पार्नुभएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारमा १ घण्टा भन्दा लामो छलफलपछि बाहिरिने क्रममा यस्तो बताउनु भएको हो । सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि निस्किने क्रममा ओलीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अभियुक्त बचाउन लागेको भनेर आफूविरुद्ध हल्ला फैलाइएको बताउनु भयो । ’अभियुक्तलाई बचाउन खोज्नुभएको भन्ने आरोप छ नि ?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ’तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन, त्यस्ताहरूले हल्ला फैलाएका हुन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन भन्ने प्रश्नको जवाफमा पनि ओलीले आफूलाई जानकारी नभएको बताउनु भयो । रायमाझी आफ्नो सम्पर्कमा नरहेको अध्यक्ष ओलीको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओलीले तीन दिनभित्र दोस्रो पटक प्रधानमन्त्री दाहाललाई भेटनु भएको हो ।