होमपेज / राजनीति
चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन–२ काे उपनिर्वाचनमा रवि लामिछानेले जिते पुनः निर्वाचन हुने आशंका व्यक्त गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे आशंका व्यक्त गरेका हुन् ।
उनले भने, ‘अहिले पनि चितवन–२ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठीकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो,’ ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि दुवै पदबाट बर्खास्त भएका थिए । प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उपचुनावमा उम्मेदवार बनेका उनको दोहोरो राहदानी विवाद कायमै छ । यद्यपि महान्यायाधिवक्ताको कार्यालयले भने यसमा मुद्दा चलाउनुनपर्ने देखिएको ठहर गरिसकेको छ ।
चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ । जहाँ लामिछाने सहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार बनेका छन् ।