ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

नेपालगाथा २०७९ चैत्र १६ गते बिहीबार ११:३५:४९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । शुक्रबार (भाेली) बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट विश्वासकाे मत लिन लागेका हुन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित २४ सांसदकाे समर्थनमा माघ ६ गते मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका थिए ।

राष्ट्रिय राजनीति पूरानै गठबन्धनमा रुपान्तरण हुँदा राप्रपाले फागुन १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिन लागेका हुन्।

‘मुख्यमन्त्री शर्माले बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुभएको छ,’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शर्मा गत पुस २७ गते नियुक्त भएका हुन् । कर्णाली प्रदेशमा नेपाली काँग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक एक जना सांसद रहेका छन्। प्रदेश सभाको बैठक यहीँ चैत १७ गते दिउँसो ३ बजे बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top