होमपेज / राजनीति
मकवानपुर । बागमती प्रदेशका ८ वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको काँधमा छ ।
तत्कालिन गठबन्धनमा रहेर सरकारमा गएको राप्रपाका तीन र एमालेका चार मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्मकट्टेलले नै सम्हालिरहेका छन् । फाल्गुन १३ गते राप्रपाका तीन मन्त्रीहरु उद्धव थापा, राजु बिष्ट र डम्बर तामाङले सामूहिक राजीनामा दिएपछि एक महिना देखि तीन मन्त्रालय रिक्त छ भने गत शुक्रबार एमालेका चार मन्त्रीेहरु एकालाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ र जगन्नाथ थपलिया पनि सरकारबाट बाहिरिएपछि हाल मुख्यमन्त्री कार्यालयदेखि बाँकी ७ मन्त्रालयको जिम्मा जम्मकट्टेलको काँधमा आइलागेको हो ।
११ मन्त्रालय रहेको बागमतीमा हाल माओवादीका मुख्यमन्त्रीसहित ४ मन्त्रालयमा मात्रै मन्त्रीहरु छन् । यसरी मन्त्रालय मन्त्री विहिन हुँदा कामकाजमा समस्या हुने गरेको छ । तर कामकारवाही भने नरोकिएको प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला बताउँछन् ।
अब आफ्नो काँधमा रहेको ७ मन्त्रालयको जिम्मेवारी गठबन्धनमा रहेका दलहरुलाई सुम्पिने तयारीमा रहेको बाग्मतीका मुख्यमन्त्री जम्मकट्टेल बताउँछन् । केन्द्रीय समीकरणले गर्दा सत्तामा फेरबदल आएको र यसले थप समस्या उल्झाएको बताउँदै अबको केहीदिन भित्रै रिक्त मन्त्रालयले पूर्णता पाउने उनको दाबी छ ।
राजनीतिक अस्थिरता र भागवण्डाको खेलमा राजनीतिक दलहरुको खिचातानीले देश अस्थिरतातर्फ धकेलिएको छ । जसका कारण विकास निर्माणको काममा पनि क्षति पुगिरहेको छ ।
माघ ११ गते पूर्णता पाएको मन्त्रिपरिषद् एक महिना पनि नबित्दै भत्किएपछि संकटमा परेका मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारका छलफल तीब्र पारेका छन् । एमाले र राप्रपाले छोडेको ७ मन्त्रालयमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई मिलाएर सरकारमा लैजाने तयारी उनको छ ।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।