होमपेज / राजनीति
गोरखा । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लाका ९४ मध्ये ४० वडामा वडा कमिटि बैठक र भेला सकिएको छ । यस्तै ११ मध्ये १० स्थानीय तहमा पालिका कमिटिको बैठक बसेर अभियान सञ्चालनको कार्ययोजना बनाइएको एमाले जिल्ला कमिटिका सचिव काजीराम रोकाले बताउनुभयो । हिमाली क्षेत्र चुमनुब्री गाऊँपालिकामा भने अभियान शुरु भैसकेको छैन । अभियान शुरु भएका पालिका अन्तर्गत गोरखा नगरपालिकाको १४ मध्ये ११ वडा, पालुङटार नगरपालिकाको १० वटै वडा, अजिरकोट गाऊँपालिकाको ५ वटै वडा, भिमसेनथापा गाऊँपालिकाको २, शहिद लखन गाऊँपालिकाको ५, वारपाक सुलिकोट गाऊँपालिकाको ३, गण्डकी गाऊँपालिकाको ४ तथा सिरानचोक गाऊँपालिकाको एउटा वडामा कार्यक्रम भएका हुन् ।
गोरखामा फागुन १४ गते नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङ सहित अभियानमा खटिएका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटिका अध्यक्ष सहितका पदाधिकारीको उपस्थितिमा जिल्ला कमिटि सचिवालय बैठक बसेर अभियानको सुरुवात गरिएको थियो । त्यसयता विभिन्न पालिका र वडाहरुमा बैठक, भेला तथा जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिइएको जिल्ला कमिटि सचिव रोकाले जानकारी दिनुभयो ।
पार्टी प्रवेशको क्रम शुरु
मिसन ग्रासरुट अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम पनि शुरु भएको छ । पार्टी प्रवेशलाई अभियानका रुपमा शुरु नगर्दै अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने लहर शुरु भैसकेको अभियानका केन्द्रिय प्रतिनिधि एवम् केन्द्रिय सदस्य तिलक महतले बताउनुभयो । गोरखा नगरपालिका वडा नम्वर ७ को वडा कमिटि बैठकका क्रममा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसियलको वडा इन्चार्ज तथा मजदुर संगठनको जिल्ला अध्यक्ष रहेका राजकुमार रोका एमालेमा प्रवेश गर्नुभएको छ ।
यस्तै पालुङटार नगरपालिकाका विभिन्न वडाबाट हालसम्म २८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘हामीले अहिले वडा कमिटिको बैठक बसेर अभियानको थप योजना बनाइरहेका छौं, पार्टी प्रवेश अभियान त्यसपछि सञ्चालन हुन्छ’ केन्द्रिय प्रतिनिधि महतले भन्नुभयो, ‘तर अहिलेनै अन्य पार्टी छोडेर एमालेमा प्रवेश गर्ने क्रम शुरु भैसकेको छ, अभियानको अन्त्यसम्ममा पार्टी प्रवेशले थप उचाई लिनेमा आशा गर्ने ठाऊँ देखिएको छ ।’ ग्रासरुट अभियान अन्तर्गतनै भएको राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनका क्रममा पनि धार्चे गाऊँपालिकाका ७ जना संघमा प्रवेश गरेका छन् । केन्द्रिय उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई युवा संघ र एमालेमा स्वागत गर्नुभएको थियो ।
जनवर्गीय संगठनको बैठक र भेला पनि सँगसँगै
मिसन ग्रासरुट अभियानका क्रममा जनवर्गीय संगठनहरुको अधिवेशनसँगै भेला र बैठकलाई पनि सँगसँगै अघि बढाइएको छ । सो क्रममा अधिवेशन हुन बाँकी रहेका राष्ट्रिय युवा संघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टको गोरखा नगर कमिटिको अधिवेशन भएको छ । यस्तै अनेरास्ववियू र नेपाल निजामति कर्मचारी संगठनको भेला भएको छ । भेलामा अभियानका केन्द्रिय प्रतिनिधि पनि पनि सहभागीता रहेको थियो । अन्य जनवर्गाीय संगठनहरुको बैठक र भेला क्रमैसँग गर्दै जाने योजना रहेको एमाले जिल्ला इन्चार्ज रामशरण बस्नेतले बताउनुभयो ।
पार्टीप्रति कार्यकर्ताको केही गुनासो तर धेरै आशा
ग्रासरुट अभियानका क्रममा भएका पालिका कमिटि र वडा कमिटिको बैठकमा विकास निर्माण सहित स्थानीय सवाललाई पार्टीले प्रभावकारी रुपमा उठान गर्नुपर्ने आवाज उठ्ने गरेको केन्द्रिय प्रतिनिधि महतले बताउनुभयो । चुनावको बेलामा मात्रै नभै अन्य समयमा पनि नेताहरु निरन्तर जनभेटघाटमा लाग्नुपर्ने पनि कार्यकर्ताको माग रहने गरेको उहाँले जानकारी दिनुभयो । ग्रासरुट जस्तै अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा पनि कार्यकर्ताले जोड दिएका जिल्ला सचिव काजिराम रोकाले बताउनुभयो । ‘अघिल्लो चुनावको मुखमा यस्तै अभियान सञ्चालन गर्न सकेको भए चुनावी नतीजा हाम्रो पक्षमा आउन सक्थ्यो भन्ने उहाँहरुको भनाई रहने गरेको छ’ रोकाले भन्नुभयो, ‘चुनाव लगत्तै शुरु भएको अभियानलाई अर्को चुनावसम्म लैजान सके सकारात्मक नतीजा प्राप्त हुनेमा उहाँहरु आशावादी हुनुहुन्छ ।’ केन्द्रिय प्रतिनिधिहरुले अभियानका क्रममा आगामी निर्वाचनमा जिल्लाका ११ मध्ये बहुमत पालिका जित्ने र संघ तथा प्रदेशमा पनि सकारात्मक नतीजा ल्याउने गरि गतिशिल रहन आग्रह गर्दै आउनुभएको छ । बाटो बिराएकाहरु र निष्क्रिय रहेका पार्टी कार्यकर्तालाई संगठित गर्दै आगामी निर्वाचनमा नेकपा एमालेको एकल बहुमत आउने गरि पालिका, वडा, टोल र घरघरसम्म अभियान सञ्चालन गरिने केन्द्रिय सदस्य महतको भनाई छ ।
अभियानका लागि पार्टीका ११ वटा कार्यादेश सहित ४ जना केन्द्रिय सदस्यलाई पालिकाहरुमा खटाइएको छ । उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गरिरहेका छन् । जस अन्तर्गत आरुघाट, चुमनुब्री र धार्चे गाऊँपालिकामा किशोरबिक्रम मल्ल, पालुङटार नगरपालिका सहित अजिरकोट र सिरानचोक गाऊँपालिकामा टुका हमाल, गोरखा नगरपालिका सहित भिमसेनथापा र वारपाक सुलिकोट गाऊँपालिकामा तिलक महत तथा गण्डकी र शहिद लखन गाऊँपालिकामा रविन्द्र अधिकारी खटिनुभएको छ । यो अभियानबाट पार्टीले नयाँ गति लिने गोरखाका एमाले नेता तथा कार्यकर्ताको विश्वास छ ।