होमपेज / राजनीति
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघले संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित हिजो सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुख घिमिरे पत्रकारहरू बिक्रीमा रहेको भन्दै अभिव्यक्ति दिएका थिए।त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ । महासंघको विज्ञप्तिमा भनिएको छ, 'सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।'
सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत् ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो। तर, सचिवालयबाट आधिकारिक धारणा आएन।
सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा कानूनीलगायतका अन्य दबावमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।