होमपेज / राजनीति
काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट उपारष्ट्रपतिको उमेदवार बनेका रामसहाय प्रसाद यादवले राजनितिक दलका नेताहरूसँग मत मागेका छन्।
जनता समाजवादी पार्टीका यादवले आज प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेका छन्। प्रचण्ड र नेपाल दुवैसँग सहयोगका लागि यादवले आग्रह गरेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई आफूहरूको साथ र सहयोग रहेको बताएको जसपाका नेता एवम् सांसद प्रदिप यादवले बताए। 'प्रधानमन्त्रीले तपाईं हाम्रो उमेदवार हो। गठबन्धनको तर्फबाट पूर्ण सहयोग रहन्छ। हाम्रो सहमति समेत भइसकेको छ भनेर भन्नुभएको छ,' जसपा नेता प्रदिप यादवले भने, 'म भोलि गठबन्धनको बैठकमा तपाइलाईं हाम्रो साझा उमेदवार भनेर प्रस्ताव समेत राख्छु भन्नुभएको छ।'
भेटमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने बताएका थिए। उनले आफ्ना पार्टीका साथै सिंगो गठबन्धनको मत आउने गरी पहल गर्ने आश्वासन नेपालले दिएका थिए। उपराष्ट्रपतिका उमेदवार यादवले आजै ३ बजे राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र ४ बजे कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।