होमपेज / राजनीति
काठमाडौँ । माओवादी धाराका पार्टी नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, सोही पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी छन् । बैठकमा सीपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । सोही विषयमा आजको बैठक केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।