होमपेज / राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु रहेको टिप्पणी गरेका छन् ।
विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए । आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले तीन वर्षअघिको सामान्य भनाइलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु जनयुद्धलाई नै जिस्क्याउनु रहेको प्रष्ट पारे ।
उनले पछिल्लो समय माओवादी ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए ।
भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै उनले पूर्वाको मोह नराख्न आग्रह गरे । ‘मैले त आफ्नो मन बनाइसकेको छु । नजिकको साथीलाई भनिसकेको छु’, उनले भने, ‘हामी एकै चोटी पार्टी एकता भनेर गला मिलाउनुभन्दा बहस गरौं । कहाँ चुक्यौं, कसको के कमजोरी भयो समीक्षा गरौं ।’