होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले बदलिदो सत्ता गठबन्धनबाट बनेको वर्तमान सरकारप्रति नरम बनेर ढोक्सा नथापेको स्पटीकरण दिएकी छन् ।
आम रुपमा (रास्वपा) सरकारमा पुन फर्किने दाउका साथै सभापति रवि लामिछानेले अनुकुलता खोजिरहेको कारण सत्ताभन्दा बाहिर जान नचाहेको भन्दै टिप्पणी भइरहेको बेला सांसद गौतमले उक्त प्रष्टीकरण दिएकी हुन् ।
सांसद गौतमले अहिलेसम्म कुनै पनि गठबन्धनको स्पष्ट संकल्प नआइसकेकाले आफूहरु अध्ययन र छलफलकै क्रममा रहेको बताइन् । स्थायी सरकार बन्ने स्थितिमा भने रास्वपाले सरकार छाड्ने वा नछाड्ने भनेर कित्ताकाट गर्ने अवस्था आउने उनले उल्लेख गरिन् । ‘स्थायी सरकार बन्दै गर्दा हामीले कित्ता काट गर्नै पर्छ । पक्षमा बस्ने वा प्रतिपक्षमा बस्ने भन्ने कुरा हामीले निर्णय गनुपर्छ । तर त्यो सरकार कस्को बन्छ को प्रधानमन्त्री बन्दैछ को राष्ट्रपति बन्दैछ । त्यो साँचो अर्थमा मन्थन र विश्लेषण गर्न पाउनु पर्यो,’ उनले भनिन् ।
गठबन्धन दलहरुको अहिलेको बाचा पत्याउने अवस्था नरहेको उनले बताइन् । खासगरी अहिले राष्ट्रपतिमा दुई पात्र रहेकामा दुवै प्रतिस्पर्धा होला वा नहोला भन्नेमा अस्पष्ट रहेकाले सरकारको समर्थन अहिले फिर्ता नलिएको उनको भनाइ छ । ‘कुन बाचा सत्य हुन र कुन बाचा झुटा हुन भन्ने कुरा छुट्याउने अवस्था छैन,’ उनले भनिन्, ‘जुन दिन बाचा यही हो भनेर निर्क्यौल हुन्छ । त्यही दिन रास्वपाले के गर्ने भनेर निर्णय गर्छ।’ सांसद गौतमले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अस्थिरताको कारण बन्न नचाहेको पनि स्पष्ट पारिन् ।
सोही कारण आफूहरुले सरकारलाई दिएको समर्थन कायमै राखेको उनको भनाइ छ । ‘हामी सरकारमा रहदा तत्कालीन गठबन्धनमा समस्या आइसकेको थियो । त्यो बेला हामीले समर्थन फिर्ता लिएको भए प्रधानमन्त्री ज्यूले विश्वासको मत लिनु नै पर्दथ्यो।' न्यूज २४बाट