होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा राष्ट्रपति उम्मेदवारबारे छलफल भएको हो।
भेटका क्रममा नेपालले प्रचण्डलाई निर्वाचनपछि एकीकृत समाजवादीलाई तत्कालीन गठबन्धनले राष्ट्रपति दिने सहमतिबारे स्मरण गराएका थिए। नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफूलाई राष्ट्रपतिमा सघाउने कि नसघाउनेबारे जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले यसबारे पार्टीमा थप छलफल गर्ने बताए। प्रचण्डले सबै दलको सहमति लिएर राष्ट्रपति उम्मेदवार तय गर्नुपर्नेमा जोड दिए।
नेपालले पावर सेयरिङको विषयसमेत उठाएको बालुवाटार स्रोतले जनाएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपाल र सुवास नेम्बाङको नाम अघि सारेका छन्। ओलीले राष्ट्रपतिमा आफ्नो नाम अघि सारेपछि नेपाल अन्य दलसँग छलफलमा जुटेका हुन्।
नेपालसँगको भेटअघि प्रचण्डले राष्ट्रपतिको विषयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। दलहरूका आ(आफ्नै अडानले राष्ट्रपति उम्मेवारबारे अझैं टुंगो लागेको छैन्। शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ।