ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एसको सचिवालय बैठक बस्दै

नेपालगाथा २०७९ फाल्गुण १० गते बुधबार १३:१५:४६ मा प्रकाशित

काठमाडौँ  । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण र त्यसबारे पार्टीको धारणा बनाउन सचिवालय बैठक बोलाएका हुन् । 

बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा व्रिफिङ गर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पार्टीको धारणा तय गर्ने उनले बताए । राष्ट्रपतिको निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । त्यसकालागि १३ फागुनमा उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । तर सत्ता गठबन्धनमा खटपट हुँदा राष्ट्रपति को बन्ने भन्ने निश्चित छैन ।

एकीकृत समाजवादीमा राष्ट्रपतिको निर्वाचनमा कांग्रेस नेतृत्वमा बन्ने विपक्षी गठबन्धनको पक्षमा मतदान गर्ने वा अन्य विकल्प खोजी गर्ने भन्ने विषयमा मतभेद छ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने र पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । अध्यक्ष नेपालले भने तत्काल पार्टी एकताको सम्भावना नरहेको भन्दै आएका छन् ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदा कांग्रेसले पनि एकीकृत समाजवादीसँग संवादलाई निरन्तरता दिइरहेको छ । राष्ट्रपति निर्वाचन र त्यसपछिको राजनीतिक समीकरणबारे मंगलबार साँझमात्रै पनि कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top