ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनीका मुख्यमन्त्री गिरीले बढाए एक महिनामै मन्त्रालयको संख्या

नेपालगाथा २०७९ फाल्गुण ८ गते सोमबार १३:३३:३८ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको संख्या १० भन्दा नबढ्ने दाबी गरेको एक महिनाभित्रै मन्त्रालयको संख्या बढेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै मन्त्रालयको संख्या १० बाट बढेर ११ पुगेको हो ।

जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेसँगै मन्त्रालयको संख्या बढेको हो । सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जसपा दलका नेता अहिरलाई मन्त्री नियुक्त गरेका हुन् ।जसपालाई सरकारमा मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाइएको हो ।

एक साताअघि कृषि मन्त्री बनाइएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्नेगरी राखिएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, 'पहिला १० वटा मन्त्रालय बनाउनेगरी सहमति भएको थियो तर अहिले मन्त्री नबनाई नहुने अवस्था आयो । एउटा मन्त्रालय बढ्ने देखिन्छ ।"

यसअघि लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय थिए । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाएर चर्चा पाए पनि एक महिनाभित्रै मन्त्रालय फेरि बढाएपछि आलोचना हुन थालेको छ । लुम्बिनी प्रदेशका ११ मन्त्रालयमध्ये एमालेका मुख्यमन्त्रीसहित पाँच, माओवादीका तीन, जनमत पार्टीका एक, राप्रपाका एक र जसपाका एक जना मन्त्री छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति र लोसपा सरकारका जाने विषय पनि चर्चामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top