होमपेज / राजनीति
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले रुपान्तरणका लागि पुस्तान्तरण आवश्यकता रहेको बताएकी छन् । आईतबार सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन भइरहेको कर्णाली उत्सव (कुरा कर्णालीका) को चौथो संस्करण अन्तर्गत तेस्रो दिनको ‘रुपान्तरण : पुस्तान्तरण’को सत्रमा बाेल्दै सांसद गाैतमले यस्तो बताएकी हुन् ।
पुस्तान्तरण गर्ने परिपाटीको सूरुवात नभएसम्म कुनै पनि क्षेत्रको रुपान्तरण हुन नसक्ने बताउँदै सांसद गाैतमले रुपान्तरणका लागि सोच, विचार, चिन्तन र मनन आवश्यक भएकाले यस्तो क्षमता युवा पुस्तामा मात्र हुने हुँदा पुस्तान्तरणको आवश्यकता अनिवार्य भएकाे बताइन् ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले रुपान्तरण नभएसम्म पुस्तान्तरणको कुनै अर्थ नहुने बताएका छन् । निश्चित व्यवस्थाको घेराभित्र नै बसेर काम गर्नुपर्ने बाध्यता रहेकोले पहिले रुपान्तरण अनि मात्र पुस्तातरण आवश्यकता रहेको बताउँदै सांसद शाहीले हिजो मलाई गाली गर्ने र मेरो बारे गलत समाचार लेख्नेहरु नै आज मेरा कुरा सुन्न र ताली बजाउन यही कार्यक्रममा आउनुभएको छ यही हो रुपान्तरण भनेको भन्दै उदाहरण दिएका थिए ।
सांसद शाहीले कर्णालीको विकासका लागि नीति मात्र बनाएर सम्भव नहुने भन्दै वास्तविक कर्णाली के हो, समस्या के हाे सबै बुझेर कर्णालीकाे विकासमा सबै पक्ष लाग्नुकाे विकल्प नरहेकाे बताए ।
ऋति फाउन्डेसनद्वारा सञ्चालन भएको कर्णाली उत्सव (कुरा कर्णालीका) गत शुक्रबारबाट शुरु भइ आईतबार सम्पन्न हुने बताइएकाे छ ।