होमपेज / राजनीति
धनुषा । सांसदले सडक, अस्पताल, विद्यालय, पुल निर्माण र सुशासनका लागि प्रदेश सरकार गम्भिर बन्न सुझाएका छन् । साथै प्रदेश सांसदप्रति अटेर गर्ने कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिन सरकारसँग माग गरेका छन् ।
विशेष समयमा बोल्दै कांग्रेसका सांसद शेषनरायण यादवले उपभोक्ता समूह, कृषक समूह, निर्माण व्यवसायीले गत वर्षको भुक्तानी निकास नहुँदा किसान, मजदुर ऋणको भारीले थिचिएको छ । उनले ऋण लिएर काम गरेका उपभोक्ता समितिलाई सरकारले तत्काल भुक्तानी गर्नुपर्ने माग गरे । एमालेकी सांसद शारदा थापाले फोहोरमैला थुपारिएकाले जनकपुरको ऐतिहासिक रंगभूमि मैदान दुर्गन्धित बनेको उल्लेख गर्दै मैदान सौन्दर्यकरणमा ध्यान दिन आग्रह गरिन् ।
लोसपाकी सांसद रानी शर्मा तिवारीले यातायात कार्यालयमा बिचौलिया समस्या समाधन गर्न सरकारलाई सुझाव दिइन् । माओवादी केन्द्रकी सांसद माला कणर् प्रदेशमा महिला हत्याको बढेको भन्दै महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न विशेष योजना ल्याउन माग गरिन् ।
सांसद रत्नेश्वर गोइत यादवले हुलाकी सडकअन्तर्गत धनुषा-सिरहा सिमाना कमला नदीको पुल सञ्चालन गर्न माग गरेका छन् । सञ्चालनमा नआउँदै भत्केको पुल निर्माण नहुँदा आवतजावतमा कठिनाइ भएप्रति सरकारको ध्यानाकर्षण गराए । कांग्रेसका सांसद जिवछी यादवले शिक्षकलाई निजामती सेवाका कर्मचारी सरह मान्यता दिएर मनोबल बढाएर प्रदेशको शिक्षा गुणस्तरी बनाउनुपर्ने बताए ।
सांसद ललिता दासले समानुपातिक सांसदको संसदीय क्षेत्र विकासको बजेट बढाउनुपर्ने, प्रादेशिक अस्पतालहरूको अवस्था सुधार गर्दे सेवा विस्तार गर्नुपर्ने र सुकुम्बासीलाई बसोबास गरेको जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारले पहल गर्नुपर्ने बताइन् ।
सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेहरूलाई पुनः नेपाली नागरिकता दिँदा मुलुकमा ‘सुरक्षा थ्रेट’ बढाएको बताए । ‘जन्मसिद्ध नागरिकता भएको अभिभावकका सन्तान नेपाली नागरिक हुँदाहुँदै नागरिकताबाट वञ्चित भएको छ,’ सांसद महतोले भने, ‘नेपालको नागरिकता त्यागेर विदेशी नागरिक बन्नेहरू फेरि नेपालको वंशज नागरिकता लिन्छन् । पुनः नागरिकता लिनेलाई अंगीकृत नागरिकता दिनु पर्ने व्यवस्था हुनुपर्छ । विदेशबाट नेपाल फर्केर फेरि नेपाली नागरिकता लिनेहरूबाट मुलुकमा सुरक्षा थ्रेट बढेको छ ।’ उनले विदेशी नागरिकता त्याग्नेलाई अंगीकृत नागरिकता दिनुपर्ने संघीय सरकारसँग आग्रह गरे ।
सांसद शोभा देवीले रौतहटको इशनाथ र गौर नगरपालिका जोड्ने लालबकैया नदीको पुल नबन्दा नागरिक असुरक्षित भएको उल्लेख गर्दै १० वर्षदेखि निर्माणाधीन पुल तत्काल बनाउन माग गरिन् । पुल नभएकै कारण नदीले बगाएर ५ जनाको मृत्यु भएको घटनापछि पनि पुल निर्माण हुन नसकेकोले सरकारले पहल गर्नुपर्ने बताइन् ।
प्रदेशसभाको विशेष समयमा सांसदहरू दीपेन्द्र ठाकुर, चन्दन सिंह, प्रमोद जयसवाल, अनरुधप्रसाद सिंह, हरिनारायण महतो, श्यामप्रसाद पटेल र भाग्यश्री चौधरीलगायतकाले सुशासन कायम गर्न सरकारसँग माग गरे ।