होमपेज / राजनीति
काठमाडौं । भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका सभामुख देवराज घिमिरेले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग पनि भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित रहेकाे छ ।
‘बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ । ’बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।
जवाफमा बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् । उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।