होमपेज / राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएकी छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था आइसकेको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेको बताइन् । उनले भनिन्, अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था भइसकेको छ । यसको दिर्घकालीन समाधान खोज्न जरूरी छ । कमजोर आर्थिक वृद्धिदर र बढ्दै गएको व्यापार घाटालाई सम्बोधन गर्न आवश्यक छ । ’
राजस्वको क्षेत्र र दायरा विस्तार गर्दै राजस्व चुहावट नियन्त्रण गर्न आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। विनियोजित बजेटमध्ये पुँजीगत बजेट पूर्ण हुन नसकेको बताउँदै पुँजीगत बजेट कम खर्च हुँदा आर्थिक क्रियाकलापमा सुस्तता आएको उनको भनाइ छ। लक्ष्यअनुसार राजस्व नउठ्दा आन्तरिक ऋणमा चाप परेको भन्दै यसका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् । बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने राष्ट्रपतिले जोड दिइन्।