होमपेज / राजनीति
काठमाडौँ । नेपाल सरकारको सूचना केन्द्र र समग्र आईटी क्षेत्रको सुरक्षाको साँचो सरकारसँगै नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । ती साँचो कहाँ छन् खोज्ने बेला भएको उनको भनाइ छ । मंगलबार इन्फोडेभेलपर्स क्यान इन्फोटेक २०२३ मेलाको उद्घाटनका क्रममा बोल्दै मन्त्री शर्माले आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले विदेशीहरूबाट सेवा लिनुपर्दा सुरक्षामा चुनौति भएको आशय व्यक्त गरिन् ।
सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा यहाँका दक्ष जनशक्ति विदेश पलायन भइरहेको र यसले गर्दा यहाँको आईटी क्षेत्र विदेशी जनशक्तिको हातमा परेको उनको भनाइ थियो । हामीले आफ्ना जनशक्ति जोगाउन नसक्ने र आफूलाई आवश्यक पर्दा बाहिर (विदेश) बाट मान्छे ल्याउनुपर्ने स्थिति भइरहेको छ, उनले भनिन्, यसले गर्दा हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुल साँचो हामीसँग छैन । मुल साँचो नै आफूसँग नहुँदा हामीले कसरी राष्ट्रियता बचाउन सक्छौँ ।
मन्त्रालयहरूमा इन्स्टल भएका सफ्टवेयरहरूको डेटा कहाँ जान्छ, त्यसको प्रयोग कसरी भइरहेको छ भन्नेबारे खोजी गर्न आवश्यक रहेको मन्त्री शर्माले बताएकी छन् । आफूले सञ्चार मन्त्रालयको नेतृत्व लिएको धेरै समय नभएकाले धेरै कुरा बुझ्न बाँकी रहेको उनको भनाइ छ । आईटी क्षेत्रमा ससाना कुरालाई समेत ध्यान नदिँदा अर्बौं राजश्व गुम्ने र पर्याप्त ध्यान दिए अर्बौं सम्पत्ति जोगिन सक्ने भएकाले यसमा आफू गम्भिर हुने उनले बताइन् । निजी र सरकारी क्षेत्र मिलेर आईटी कम्पनी बनाउनेबारे थप छलफल गर्न आफू तयार रहेको पनि उनको भनाइ छ ।