ट्रेण्डिङ

होमपेज / राजनीति

सत्तामा फर्कन रवि लामिछानेको दाैडधुप

नेपालगाथा २०७९ माघ १६ गते सोमबार ११:०४:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ । 

शुक्रबार सर्वाेच्च अदालतकाे आदेशपछि एकाएक सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार पुनः राजनीतिमा सक्रिय भएका छन्। अदालतको शुक्रबारको फैसलाबाट पार्टी सभापति पदसमेत गुमाएका लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पुनः सभापतिको जिम्मेवारीमा फर्काएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन्।लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्। 

रविले आफ्नो नागरिकताको विवाद सकिएको र राहदानीको छानबिन पनि सकिने हुनाले नियुक्त गर्न दाहाललाई भनेका थिए। स्रोतका अनुसार रविले उपनिर्वाचनमा पनि चितवन २ बाट आफूले जित्ने हुँदा कुनै अप्ठ्यारो नपर्ने तर्क गरेका थिए। प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए। प्रधानमन्त्री प्रचण्ड नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्। लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्।

रास्वपाको हिजाे बसेको केन्द्रीय समिति बैठकले गृह मन्त्रालय फेरि आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ। रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय नछोड्ने हुने दाबी गरेको छ। लामिछानले निष्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी फिर्ता गरेका छन्। उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकता लिएलगत्तै आइतबार दिउँसो राहदानी विभाग पुगेर आफ्नो नेपाली राहदानी पनि फिर्ता गरेका हुन्। उक्त राहदानी अवैध थियो। लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए। रविको गृहमन्त्री बन्ने चाहनामा नेकपा एमालेको पनि साथ देखिएको छ। तर प्रधानमन्त्री प्रचण्ड सहमत भइसकेका छैनन् । 

गैरसांसद पनि ६ महिना मन्त्री हुन पाउने व्यवस्था नेपालको संविधानमा भएकाले लामिछाने मन्त्री बन्ने सम्भावना छ । संविधानको धारा ७८ को उपधारा १ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ।’तर शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संसदको सदस्य हुनुपर्ने हुन्छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top