होमपेज / राजनीति
काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन:स्थापित भएका छन् ।
सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई सभापतिमा पुनः चयन गरेको हो। रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी छ। रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। पुरानै नागरिकताबाट राहदानी प्राप्त गरेका लामिछानेले विभागमा पुगेर त्यसको अपडेट प्रक्रियाका बारेमा जानकारी लिएका छन्। कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुन:स्थापित गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार अमेरिकाबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रियामा नगएकाले लामिछाने नागरिकताविहीन भएको आदेश दिएसँगै उनको सभापति पद खारेज भएको थियो। आज बिहान काठमाडौं प्रशासन पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए। गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताए।
संविधानको धारा ७८ को उपधारा १ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्नेछ।’ तर शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संसदको सदस्य हुनुपर्ने हुन्छ ।