होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता प्रमाणपत्र विवादमा सर्वोच्च अदालतले उनको विपक्षमा फैसला गरेको छ ।
अदालतको फैसलापछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वत: खारेज हुने भएको छ। लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन्। तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् । सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन। लामिछानेले आफू अब अनागरिक भइसकेको बताए।उनले भने, ‘म अनागरिक छु। कुनै प्रश्नको जवाफ मसँग छैन ।’अब के गर्नुहुन्छ? भन्ने अर्को प्रश्नमा उनले भने- एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन।
इजलासले रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन।
उनले अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारवाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर भएको फैसला सुनाएको हो। उक्त फैसलासँगै लामिछानेले नेपालको नागरिकता लिन चाहे पुन:प्राप्तिको प्रक्रियामा जानु पर्ने हुन्छ।वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता गरीपाउँ भनी निवेदन दिएर नयाँ नागरिकता लिनुपर्ने बताए । लामिछानेले प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीले समेत बताएका छन।
‘सर्वोच्च अदालतको संक्षिप्त निर्णय थाह पायौं, कुनै नकारात्मक टिप्पणी वा निर्देशनात्मक आदेश छैन भने हामीले तत्काल नागरिकता दिन सक्छौं’ जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने, ‘तर अदालतकै आदेश भएकाले एकपटक गृहमन्त्रालयसँग परामर्श गर्छौं होला ।’