होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन गठबन्धन जोगाउन भूमिका खोज्दा सभापति शेरबहादुर देउवाले आवश्यक पर्दा बोलाउने जवाफ दिएको बताएका छन् ।
बुधबार कांग्रेस मुख्यालय सानेपामा भेटिएका महामन्त्री थापाले गठबन्धन सफल भएको भए पनि आफूहरुले टुटाउन खोजेको आरोप खेपिरहेको हुने बताए । “गठबन्धन सफल भएको भए हामीलाई ‘तिमिहरुले भत्काउन चाहन्थ्यौ, त्यसमा सकेनौ’ भन्ने आरोप लागिरहन्थ्यो,” उनले भने, “गठबन्धनको व्यवहारको जिम्मा लिएका नेताहरुले गठबन्धन मिलेपछि श्रेय लिने, बिग्रिएपछि जिम्मा लिन पन्छिहाल्ने, सकिनँ पनि भन्नुपथ्र्यो ।” सभापति शेरबहादुर देउवालाई वस्तुस्थितिबारे ब्रिफिङ गरेको र देउवाले आवश्यक पर्दा बोलाउने जवाफ दिएको उनले बताए । ‘हामीहरू गठबन्धनविरुद्धमा रहेको ट्याग लागेकाले अलग रहने कुरा भयो,’ उनले भने, ‘हाम्रो कुरा राख्न चाहन्थौँ, विभिन्न माध्यमबाट आफ्ना कुरा राख्यौँ पनि । त्यतिबेला गठबन्धनको कुरा दुई-तीन जना नेताले गर्नुपर्छ भनियो । वार्ता गरिरहेका छौँ भनियो ।’
टिकट बाँड्ने समयमा राजनीतिक व्यवहार कांग्रेसभन्दा पनि गठबन्धन जोगाउन केन्द्रित भएको उनले बताए । थापाले भने, “कांग्रेसले कांग्रेस भएर सोच्नेभन्दा पनि गठबन्धन जोगाउन प्राइमरी कुरा हो भनेर सोच्यौँ । त्यसको जवाफ दिनुपर्दैन ?” “पार्टी सभापतिले सबै कुरा म गर्छु भनेपछि हस्तक्षेप कसरी गर्ने ? टेलिफोन गर्दा के के काम गर्नुपर्छ भनेँ । भएका सूचना र अवस्थाको ब्रिफिङ गरेँ । म पर्यो भने बोलाउँछु भनेपछि गर्ने के ?,” थापाले प्रश्न गरे ।
दुर्घटनामा पर्न सकिने कुरा विश्लेषण भएको र सभापति देउवाले परेको बेला बोलाउने भन्ने जवाफ पाएपछि पछि हटेको थापाले बताए । “हस्तक्षेप भनेको के गर्ने ? त्यहाँ गएर नाँच्ने, उफ्रने हो कि ? नारा लगाउने हो ?,” थापाले प्रश्न गरे ।