ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेले कसलाइ बनाउँदैछ सभामुख? चर्चामा छविलालदेखि विद्या भट्टराईसम्म

नेपालगाथा २०७९ पौष १८ गते सोमबार १५:१२:११ मा प्रकाशित

काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको एमालेको भागमा सर्वोच्च पद राष्ट्रपतिसँगै सभामुख पनि परेको छ  ।

दलहरुबीच राष्ट्रपति एमालेले पाउने सहमति भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिबाहेकका अन्य प्रमुख पद कसले पाउने भन्ने विषयमा दलहरु तीव्र छलफलमा लागेका छन् । सभामुखका विषयमा एमालेमा औपचारिक छलफल भने सुरु भइसकेको छ । यससँगै एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकांक्षीबारे चर्चा सुरु भएको हो । सभामुखमा चारजना आकांक्षी देखिएका छन्। एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने पार्टीले निर्णय गर्नेछ । 

चर्चामा आए पनि उपमहासचिव गुरुङ आफू निकट नेताहरुसँग सभामुख नबन्ने संकेत गरेका छन् । “मेरो ध्यान अब पार्टीको महासचिव बन्नेमा हुन्छ। नभए पनि उपाध्यक्ष त भइहाल्छु । अब सभामुख बन्नेतिर म लाग्दिन,” एक नेताले उनको भनाइ उद्धृत गर्दै भने ।सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् । दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याएका छन् ।

संसद्को अधिवेशन पुस २५ गते आह्वान भइसकेको छ। पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा हुनेछ।संसद् अधिवेशनमा सबैभन्दा पहिला सरकारले विश्वासको मत लिनेछ। सरकारले विश्वासको मत लिइसकेपछि सभामुखको निर्वाचन हुनेछ। तत्काल कायम सबै प्रतिनिधिसभा सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top