होमपेज / राजनीति
काठमाडौं । गृह मन्त्रालयले आफूखुसी कूटनीतिक नियोग र राजनैतिक नेतृत्वसँग नभेट्न निर्देशन दिएको छ ।सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने गृह मन्त्रालयले जनाएकाे छ।
कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो।गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन्।
निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि उनले बताएका छन्।
“शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ ।