ट्रेण्डिङ

होमपेज / राजनीति

दलहरूले चुनावमा महिलामाथि व्यापक विभेद गरे:प्रमुख निर्वाचन आयुक्त

नेपालगाथा २०७९ मंसिर २३ गते शुक्रबार १६:२९:२२ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न निर्वाचनमा राजनीतिक दलहरूले टिकट नदिएर महिलाहरूमाथि व्यापक विभेद गरेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरूमाथि ठूलो विभेद गरेको बताए ।

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै थपलियाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत उमेदवार पनि नबनाएर राजनीतिक दलहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको आरोपसमेत लगाए ।

"उमेदवारी दिँदा राजनीतिक दलहरूबाट व्यापक रूपमा विभेद भयो भन्ने हामी देख्छौँ । स्थानीय तहमा साँच्चै भन्ने हो भने कोटा पुर्‍याउन मात्रै महिलाहरूलाई स्थानीय तहमा पनि उमेदवारी दिइयो । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा दुईटैमा उमेदवारी दिए एउटा अनिवार्य भनेर कानुनले भन्यो । तर, हामीले के भन्यौ  भने यदि एउटा दिइन्छ भने त्यो महिला नै हुनुपर्दछ भन्ने कुरालाई पनि अवज्ञा गरियो । त्यसकारण कोटा पुर्‍याउन पनि छलकपट नै गरेर उमेदवारी दिइयो । यसरी महिला हिंसा सिर्जना गरिएको छ । प्रतिनिधिसभामा १० प्रतिशत पनि महिलालाई उमेदवारी दिइएन," उनले भने । 

थपलियाले लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यबद्धता रहेको र त्यसको पालनाका लागि शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे । उनले राजनीतिमा महिलाहरूमाथि हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्षलाई सचेत रहन पनि आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top