होमपेज / राजनीति
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमाथि सर्वोच्च अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशमा राष्ट्रपति कार्यालयले मंगलबार जवाफ पेस गरेको छ ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको सम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता हुनु राष्ट्रपति संस्थाको अपमान भएको बताएको छ ।सोमबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले गरेको काम कारबाहीउपर अदालतमा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ ।
राष्ट्रपति कार्यालयका तर्फबाट सचिव यादवप्रसाद कोइरालाले विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय सन्दर्भ तथा तर्कहरुसहितको लामो जवाफ पठाएका हुन् ।राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले पेस गरेको लिखित जवाफमा राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गरेका कामकारबाहीमाथि अदालतमा रिट दर्ता नहुने कानुनी व्यवस्थाविपरीत अदालतमा सुनवाइ भएको भन्दै प्रश्न उठाएको छ ।
राष्ट्रपति कार्यालयको थप व्याख्या यस्तो छः
संसदको दुवै सदनसमक्ष राष्ट्रपतिको सन्देश पेश भैसकेपछि त्यस्तो विधेयकलाई पुनर्विचार गर्नैपर्ने बाध्यात्मक व्यवस्था भएको देखिन आउँछ । ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी’ भनी संविधानमा उल्लेख भएको वाक्यको अर्थ पुनर्विचार गरिरहनु नपर्ने भन्ने हुँदैन । पुनर्विचार गर्नुमात्र यस वाक्यांशको अनिवार्य मार्गदर्शन हो भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
संसद्को कुनै पनि सदनले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको विधेयकलाई प्रस्तुत रूपमा वा संशोधनसहित पारित गर्नसक्छ । यसका बारेमा विवाद गरिरहनु आवश्यक छैन र विवादको विषय पनि त्यो होइन । तर, त्यसरी कुनै पनि रूपमा पारित गर्ने तहमा पुग्नुअघि राष्ट्रपतिबाट प्राप्त सन्देशअनुसार विधेयकमाथि पुनर्विचार गरिनैपर्ने र ‘प्रस्तुत रूपमा वा संशोधनसहित’ भन्ने संविधानको धारा ११३ (४) को व्यवस्थाबाट संशोधनको मौका प्रतिनिधिसभा र राष्ट्रियसभाका माननीय सदस्यहरूले पाउनुपर्ने पूर्वसर्त संविधानले अक्षरशः स्थापित गरेको देखिन्छ । प्रस्तुत विधेयकको हकमा उक्त व्यवस्था पालना भएको छैन ।
संसदले पुनर्विचार गरिसकेपछि मात्र त्यस्तो विधेयकलाई प्रस्तुत रूपमा वा संशोधनसहित पारित गर्नुपर्नेमा पुनर्विचार नै नगरी प्रस्तुत रूपमा पारित गरेको देखिन आयो । यस तथ्यलाई नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि प्रतिनिधिसभाका सम्माननीय सभामुखबाट राष्ट्रपतिको कार्यालयमा मिति २०७९/०५/२० मा गरिएको पत्राचारले समेत पुष्टि गर्दछ । यसरी विधेयकका बारेमा संविधानद्वारा अनिवार्य गरिएको पुनर्विचारसम्बन्धी महत्वपूर्ण प्रक्रिया नै पूरा नभएको अवस्थामा विधेयकले संविधानको धारा ११३ (४) मा गरिएको व्यवस्था पालना हुन आएको देखिएन ।
राष्ट्रपति संस्थाबाट संविधानको भावनाअनुरूप पठाइएको सन्देशलाई अन्तरवस्तुभित्र प्रवेश नै नगरी व्यापक छलफल, परामर्श र गहन अध्ययनको अभावमा सन्देशको मर्म र भावनाको विपरित हुनेगरी प्रमाणीकरणको लागि पठाइएको विधेयकले संविधानले परिलक्षित गरेका प्रावधान उल्लंघन हुन गएको राष्ट्रपति कार्यालयको ठहर छ । यसो हुँदा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक दायित्वभित्र रहेर नै राष्ट्रपति संस्थाबाट संविधानको भावना अनुकूल उक्त विधेयकलाई यथावस्थामा राखिएको जिकिर राष्ट्रपति कार्यालयले लिएको छ ।
सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयमा पठाएको पत्रमा संसदले राष्ट्रपतिको सन्देशसहित प्राप्त विधेयकलाई प्रस्तुतरूपमै पारित गरेको उल्लेख गरेका छन् । संविधानको धारा ११३ (४) बमोजिम पुनर्विचार गर्नुपर्नेमा भने उनको पत्र मौन रहेको देखिएको छ ।