ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर

नेपालगाथा २०७९ कार्तिक २५ गते शुक्रबार १७:५७:२० मा प्रकाशित

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ ।

निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारसँगै यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बाक्लो देखिएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ ।

केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत भएको छ । नेकपा (एमाले)ले पनि आवश्यकतानुसार विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेको छ । मधेस प्रदेशलगायत केही क्षेत्रमा एमाले र जनता समाजवादी पार्टी, नेपालबीचको गठबन्धन छ भने केही स्थानमा राप्रपासँग एमालेको तालमेल छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरेको छ भने स्वतन्त्र उम्मेदवार हौसिएको देखिएको छ । केही स्थानमा विगतका विरासत जोगाउने, केही स्थानमा नयाँ रेकर्ड कायम गर्न उम्मेदवार लागिपरेका छन् ।

केही क्षेत्रमा एउटै पार्टीका उम्मेदवार एकापसमा भिडेका छन् भने केही स्थानमा गठबन्धनकै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । काठमाडौँ निर्वाचन नं ७ मा गठबन्धन एकातिर र अर्कातिर पूर्वसहकर्मी एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह (मानुषी) यमी भट्टराई हुनुहुन्छ । नेकपा (एमाले)का तर्फबाट श्याम घिमिरे हुनुहुन्छ । काठमाडौँमा एमालेको सशक्त नेताका रूपमा अघि बढ्नुभएका र अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएका नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रमा पूर्वएमाले नेता तथा हालका जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठको पनि उम्मेदवारी छ ।

उहाँहरू राष्ट्रिय राजनीतिका परिरिचत व्यक्तित्व हुनुहुन्छ । श्रेष्ठ र मानन्धर पूर्वमन्त्री भइसक्नुभएको छ । पहिलोपटक निर्वाचनमा होमिनुभएकी यमी गठबन्धन दलहरूको पूर्ण समर्थन पाउनेमा विश्वस्त हुनुहुन्छ । घरदैलो अभियानका क्रममा मतदाताले दिएको हौसलाबाट आफू सहज जितको पर्खाइमा रहेको उहाँको भनाइ छ । यसअघि सो क्षेत्रबाट विजयी भएका जनप्रतिनिधिसँग असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा पार्न उहाँ क्रियाशील हुनुभएको छ । “विगतका कुराबाट शिक्षा लिँदै म नयाँ युगको प्रतिनिधि पात्रका रूपमा अघि आएको छु”, उहाँले भन्नुभयो, “विगतका राम्रा कामलाई निरन्तरता दिने, गल्तीलाई नदोहो¥याउने र भाविष्यलाई केन्द्रमा राखेर काम गर्नेछु ।” संविधान निर्माणपछि नयाँ कानून निर्माण गर्नुपर्ने भए पनि अझै महत्वपूर्ण कानून बन्न बाँकी रहेकाले ती कानून निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ ।

“सार्वजनिक निकाय प्रभावकारी छैनन्, तिनलाई सबल बनाउने र विद्यमान आर्थिक सङ्कटलाई समाधान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नेछु”, उहाँले भन्नुभयो । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी विजयी हुनुभएको थियो । निर्वाचित भएपछि नेताहरू आफ्नो क्षेत्र नफर्कने, मतदातासँग प्रत्यक्ष अन्तक्र्रिया नगर्ने विद्यमान प्रवृत्तिलाई चिर्दै उहाँले आफू निर्वाचित भएपछि आममतदातासँग सहज र सरल पहुँच कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । एमाले उम्मेदवार श्याम घिमिरे सुखी नेपाली, समृद्ध नेपाल बनाउने उद्देश्यका साथ आफू निर्वाचनको मैदानमा उत्रिएको बताउनुहुन्छ । जनताको समस्या समाधानमा आफ्नो ध्यान जाने उहाँको भनाइ छ ।

“ऐतिहासिक सहरका रूपमा रहेको काठमाडौँको कला, संस्कृति र सम्पदालाई संरक्षण गर्ने नीति निर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो, “तीन तहको सरकारमार्फत जनअपेक्षाअनुसार विकास निर्माणका योजना सञ्चालन गरिनेछ ।” घरदैलो अभियानका क्रममा मतदाताले देखाएको माया र सद्भावबाट आफू निकै उत्साहित भएको उहाँको भनाइ छ । काठमाडाैँ क्षेत्र नं ७ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका एमाले नेता रामवीर मानन्धरले ‘रूपान्तरणको आधार सुशासन र सदाचार, भ्रष्टाचारमुक्त समाज’ नारा अघि सार्नुभएको छ । सो क्षेत्रको समग्र विकासका लागि आफूले स्वन्त्ररूपमा उम्मेदवारी दिएको उहाँको भनाइ छ । आफू अन्तिमपटक निर्वाचन लड्न लागेको स्पष्ट पार्दै उहाँले आगामी पाँच वर्षभित्र यसअघि सुरु भएका काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो अन्तिम निर्वाचन भएका उहाँले सडक व्यवस्थापन, महिला सशक्तीकरण, उद्यमशील रोजगार, सम्पदा संरक्षण, गुणस्तरीय स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिनुभएको छ । “म दुई–दुई पटक निर्वाचित भएर मन्त्री पनि भएँ, मैले सुरु गरेको विकासको अभियानबाट यहाँको मतदाता सन्तुष्ट हुनुहुन्छ”, उहाँले भन्नुभयो । एमालेबाट छुट्टिएर जनता समाजवादी पार्टीमा लाग्नुभएका नेता राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ ।

एमाले र जसपाबीच केही निर्वाचन क्षेत्रमा तालमेल भए पनि सो क्षेत्रमा भने जसपा नेता श्रेष्ठ एक्लै चुनावी मैदानमा हुनुहुन्छ । एमालेको आधिकारिक उम्मदेवार, एमाले नेता रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी सोही स्थानमा रहेको अवस्थामा जसपा नेता श्रेष्ठ एक्लो पर्नुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top