होमपेज / राजनीति
विराटनगर । आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका डा सुनील शर्मा र नेकपा एमालेका भानुभक्त ढकालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा भानुभक्तसँग सुनील पराजित भएका थिए। मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय सात मतले शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत प्राप्त गरेका थिए ।
तर, आगामी निर्वाचनका लागि भने नेपाली चलचित्र जगतकी चर्चित नायिक रेखा थापाको प्रवेशले माहोल तातिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी रेखा उक्त पार्टीकी केन्द्रीय सदस्य हुन् ।नेपाली फिल्म क्षेत्रकी ‘हिम्मतवाली’ हिरोइन रेखा थापा पहिलो पटक प्रत्यक्ष चुनाव लड्दैछिन् । उनी यस क्षेत्रका स्थानीयवासीका लागि स्वतः ‘आकर्षण’ बनेकी छन् । थापाप्रति देखिएको जनलहरले चुनावी परिणाम कता जाने हो भन्ने आकलन गर्नसक्ने अवस्था छैन।
यो क्षेत्रमा राप्रपाको संगठन त छ, तर जनाधार बलियो छैन । त्यसमाथि एमाले र राप्रपा नेतृत्वबीच तालमेलका लागि छलफल भएकाले रेखाले यही क्षेत्रमा उम्मेदवारी दिनेमा धेरैले आशंका गरेका थिए ।थापाको बढ्दो सक्रियताले क्षेत्र नम्बर ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ । रेखाले आफूलाई नेताका रुपमा होइन, छोरी, दिदीबहिनीका रुपमा प्रस्तुत गर्छिन् । यो पटक आफूलाई जिताए भोलिभोलि अरु छोरीहरुले पनि चुनाव लड्ने साहस बटुल्ने बताउँछिन् ।
अहिलेकै अवस्था र माहोल रेखाले निर्वाचनको दिनसम्म कायम राख्ने हो भने १ लाख ४९ हजार ८३३ मतदाता रहेको यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
अन्य स्वतन्त्रहरूमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार बनेका छन् ।