ट्रेण्डिङ

होमपेज / राजनीति

केसी र पाठक :कसलाई कति चुनौती?

नेपालगाथा २०७९ कार्तिक १६ गते बुधबार १५:३३:२२ मा प्रकाशित

काठमाडौं । युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसंग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ ।

बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा एमालेका केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ ।

संसदीय यात्रामा यी दुवै नेता नयाँ भने होइनन् । यो चुनाव जितेमा केसी चौँथोपटक सांसद बन्नेछन भने पाठक दोस्रोपटक । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिरेका थिए ।

विसं २०७० को चुनावमा बागलुङ–२ मा पराजित पाठक विसं २०७४ को चुनावमा भने जीत निकाल्न सफल भएका थिए । वाम गठबन्धनको साझा उम्मेदवार बनेर बागलुङ–१ मा चुनाव लड्नुभएका पाठकले नेपाली कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार २९ मतले पछि पारेका थिए । पाठकको ३३ हजार छ सय ४५ र खड्काको २० हजार छ सय १६ मत आएको थियो ।

यो पाँच वर्षमा चुनावी समीकरण फेरिएको छ । हिजो एकै मोर्चामा रहेका दल अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई धु्रवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । दलमा विभाजन आएको छ । यो स्थितिले चुनावी गणितमा पनि फेरबदल ल्याएको छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनमा रहेका दुई मुख्य शक्ति नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा अहिले कांग्रेसलगायतको पाँच दलीय मोर्चामा छन् ।

यहीबीचमा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल छ । अहिले सत्ता गठबन्धनका विरुद्ध एमाले एक्लै चुनावमा होमिएको छ । अघिल्लो चुनाव २०७४ मा माओवादी र जनमोर्चासहितको मत लिएर जित्नुभएका पाठकलाई यसपाली पाँच दलीय गठबन्धनको चुनौती छ ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा पनि जिल्लामा सत्ता गठबन्धनसामु एमाले कमजोर देखिएको थियो । दसमध्ये एमालेले एउटा मात्र स्थानीय तहको प्रमुख जितेको थियो । बागलुङ–१ मा रहेका चारवटै स्थानीय तहमा पनि प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षलगायत अधिकांश वडामा गठबन्धन दलका उम्मेदवारले चुनाव जितेका थिए ।

चौध वडा भएको बागलुङ नगरपालिकामा तीन, १० वडाको जैमिनी नगरपालिकामा एक र आठ वडा भएको काठेखोला गाउँपालिकाका तीन वटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । पाँच वडा रहेको वरेङ गाउँपालिकामा भने एमालेले एउटा पनि वडा जित्न सकेको थिएन । यस क्षेत्रका कूल ३७ वडामध्ये एमालेका उम्मेदवार जम्मा सात वटा वडामा मात्र विजयी बनेका थिए ।

गत स्थानीय चुनावका उम्मेदवारले पाएको मतभारलाई आधार मान्दा गठबन्धनको जनमत बढी छ । तर गठबन्धनमा आबद्ध दललाई पनि आफ्ना मतदाता जोगाउने र चुनावी तालमेलको कागजी सम्झौतालाई मतमा परिणत गर्नुपर्ने चुनौती उत्तिकै छ ।

पौडेल पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रका हुन । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top