होमपेज / राजनीति
काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।
एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगको पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
'निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ?' स्पष्टीकरणमा भनिएको छ ।
'तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।'