होमपेज / राजनीति
सुर्खेत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले आसन्न निर्वाचनमा एमालेको जित हुँदा सिंगो देशले जित्ने बताउनु भएको छ ।
निर्वाचन नजिकिदैँ जाँदा नेकपा (एमाले)ले सुर्खेतले निर्वाचन क्षेत्र नम्बर २ मा आयोजना गरेको घरदैलो कार्यक्रममा प्रदेश सभाका सूर्य ध्वजाबाहक उम्मेरदवारसमेत रहनु भएका इन्चार्ज कंडेलले यस्तो बताउनु भएको हो ।
मतदातासँगको भेटघाटका क्रममा विकासका लागि एमाले सधै प्रतिवद्ध रहेको प्रतिक्रिया दिनु भएको प्रदेश इन्चार्ज कंडेलले मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा सूर्यमा मतदान गरेर एमालेलाई जिताउन आग्रह गर्नुभयो ।
‘सुर्खेतको मात्र नभएर समग्र कर्णाली प्रदेशको सडक, खानेपानी, लालपूर्जा होस् वा अन्य विकासका लागि म सँधै यहाँहरुकै साथमा छु’ उहाँले थप्नुभयो ‘आसन्न निर्वाचन मार्फत एमालेलाई सरकार निर्माण गर्ने गरी बहुमत दिएर कर्णालीका जनताले अभाव महसुस नहुने गरी काम गर्ने गरी प्रदेश इन्चार्जको हैसियतले पनि म प्रतिवद्धता व्यक्त गर्छु ।’
नेपाली काँग्रेस एक्लै चुनाव लड्न नसकेर प्रचण्डको वैशाखी टेकेर चुनावमा उत्रिएको आरोप लगाउँदै उहाँले भन्रुभयो, ‘प्रचण्डको वैशाखी टेकेर काँग्रेस चुनावमा छ । एमालेलाई जनताले चाहेर एक्लै चुनाव लड्दैछ ।’
नेकपा (एमाले) सुर्खेतले पार्टीको सूर्य ध्वजाबाहक उम्मेरदवारसँगै घरदैलो कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज कंडेलसहित प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमृतबहादुर बिसी, पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारहरुले आइतबार वीरेन्द्रनगर १३ मा घरदैलो गर्नु भएको छ ।
उम्मेरदवारको टोलीले वीरेन्द्रनगरपालिकाको वडा नं १३ को गुप्तिपुर, इन्द्रपुर, करेखोलालगायतका ठाउँमा घरदैलो कार्यक्रम गरेको छ । प्रदेश सभा (क) मा कात्तिक २८ गतेसम्म घरदैलो अभियान सञ्चालन गरिने एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्तिक १४ गते वडा नं. १४ मा, १७ गते वडा नं. २ मा, १८ गते वडा नं ३ मा, कात्तिक १९ गते वडा नं. ९ मा, २० गते वडा नं. १० मा र २१ गते वडा नं. ११ मा घरदैलो अभियान गर्ने कार्यक्रम रहेको छ ।
यस्तै २२ गते वडा नं १२, कात्तिक २३ गते वडा नं ५, कात्तिक २४ गते वडा नं १, कात्तिक २५ गते वडा नं ४, कात्तिक २६ गते वडा नं ७, कात्तिक २७ गते वडा नं ८ र २८ गते वडा नं ६ मा घरदैलो कार्यक्रम गर्ने नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।