होमपेज / राजनीति
त्रिशूली । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उमेदवारी कायम भएको छ ।
प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५ उम्मेदवार कायम भएका छन् ।यही असोज २३ गते मनोनयनपत्र दर्ता गराएका मध्ये बुधबार तीनजनाले उमेदवारी फिर्ता लिएका छन्। मनोनयनपत्र दर्ता गराएका ६६ मध्ये ६३ जनाको उमेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कुल छ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।
क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर–१ मा मनोनयन दर्ता गराएका स्वतन्त्र उमेदवार सरोज गिरी र नुवाकोट–१ प्रदेशसभा ‘ख’तर्फ स्वतन्त्र उमेदवारी दिएका नरहरि भेटुवालले उमेदवारी फिर्ता लिए । यस्तै, नुवाकोट–२ को प्रदेशसभा ‘ख’तर्फ नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दिएकी राममाया बोगटीले उम्मेदवारी फिर्ता लिइन् ।
आगामी निर्वाचनका लागि सत्तारुढ दलहरूबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नं १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा एकीकृत समाजवादीले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।
यस्तै, क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’मा गठबन्धनको निर्णयानुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुंगानालाई उमेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उमेदवारी कायमै छ ।
यसैगरी, प्रदेशसभा ‘ख’मा गठबन्धनको निर्णयानुसार कांग्रेस उमेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उमेदवारी दिएका छन् । उनको उमेदवारी कायमै छ । रासस