होमपेज / राजनीति
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावपछि प्रधानमन्त्रीमा हुने इच्छा देखाएका छन् ।
पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा उनले सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि देशले आफ्नो भूमिका खोजेको जिकिर गरे ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले तनहुँ १ नछाड्ने संकेत गर्दै भाषण गरे । आफूमा मुलुकको नेतृत्व गर्ने नैतिक शक्ति भएको भन्दै सक्रिय राजनीतिबाट विमुख नहुने बताए । उनले आफूलाई मुलुकले कार्यकारणी भूमिकामा देख्न चाहेको भन्दै प्रधानमन्त्रीमा दाबी समेत गरे ।
‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ’ पौडेलले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ ।’