होमपेज / राजनीति
काठमाडौं । लामो समयपछि बालुवाटार छिरेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाकाबीचमा छलफल सम्पन्न भएको छ।
बुधबार बिहान ओली उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए ।
प्रधानमन्त्री कार्यालयमा देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए। भेटमा ओलीले संक्रमणकालीन ऐन, नागरिकता विधेयक, आगामी निर्वाचनमा धाँधली हुनसक्ने र महंगीको विषय उठाएका थिए।
ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदाबाट कुरा थाले ।
‘बालुवाटारको भेटमा मुख्य रुपमा हामीले चार विषयमा सरकारको ध्यानाकर्षण गराएका छौं,’ पौडेलले भने, ‘यो मुलुकमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले पनि छ भन्ने हेक्का राखेर आफ्ना कार्य सञ्चालन गरोस्।’
बैठकमा सहभागी अर्का नेताका अनुसार सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरे पनि तार्किक निष्कर्षमा पुग्नेमा एमालेले आशंका गरेको छ । ‘सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने होइन र ? कि एक्लै हिँडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो ?’ ओलीले देउवालाई भनेको उद्धृत गर्दै ती नेताले सुनाए ।