होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान,आर्थिक सामाजिक विषय र विदेश नीतिमा साझा धारणा बनाएरमात्र चुनावमा जानुपर्ने भन्दै चुनाव जित्नका लागिमात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ८ (ख) द्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेशसभा क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै थापाले अन्य दलको तुलनामा कांग्रेसको संगठनात्मक अवस्था र फरक मतदाता रहेको भन्दै यसलाई ख्याल नगरी चूनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताएका हुन् ।
उनले २ हजार मत भएको दललाई २० हजार खन्याएर २२ हजार मत बनाउँन नसकिने बताए ।महामन्त्री थापाले भने–विदेश नीतिको कुरा आउनासाथ गठबन्धनकै अर्का साथीले हामीलाई दलाल भन्छन्,राष्ट्रघाती भन्छन् । दलाल भनेको छ फेरि गठबन्धन पनि बसेको छ । राष्ट्रघातीसँग किन बसेको त ? त्यसैले अब चुनाव अघि नै गठबन्धन गरेर जाँदै गर्दा यस्ता विषयमा न्युनतम समझदारी हुनुपर्छ ।
थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँमा रहने के ग्यारेन्टी छ भनी प्रश्न गरेका छन् ।