ट्रेण्डिङ

होमपेज / राजनीति

बालेनलाइ सत्तारुढ र प्रतिपक्षी दलले काम गर्न नदिएका हुन?

फोहोर व्यवस्थापनमा किन भयाे समस्या? बालेन भन्छन:सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो

बासु देब न्याैपाने २०७९ श्रावण ३० गते सोमबार २०:२४:५२ मा प्रकाशित

काठमाडौं । काठमाडाैं महानगरकाे फाेहाेर व्यवस्थापनमा राजनीतिक दलहरूले नै अवराेध खडा गरेको आरोप महानगरपालिकाका मेयर बालेन शाहले लगाएका छन्।

सामाजिक सञ्जालमार्फत मेयर शाहले सोमबार पनि फोहोर विसर्जनको काम सहज नभएको बताएका हुन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘यद्यपि, २०० भन्दा बढी प्रहरीहरूको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगियो । तर, केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरेडाँडा लैजान सकियो ।’

उनले राज्य संरचना नै फाेहाेर व्‍यवस्थापनमा लाग्दा पनि स्थानीयका नाममा विराेध भइरहनुलाई यसकाे भित्री कारण राजनीतिक दलहरूकै चलखेल भएकाे संकेत गरेका छन्।सोमबार २ सयभन्दा बढी प्रहरी परिचालन गरी फोहोर बोकेका गाडी बन्चरेडाँडा लगिए पनि केही समूहले गुलेली हानेर अवरोध गरेको उनले बताएका छन् । 

उनले फोहोरको व्यवस्थापन गर्ने तर स्वार्थहरुको व्यवस्थापन गर्न नसकिने बताए । तैपनि आफू दलहरूविरुद्ध नलागेको पनि उनले प्रष्ट्याएका छन्।

बालेनले फोहोर व्यवस्थापनमा पूरै राज्य संरचना किन निरीह बनेको भन्दै प्रश्न समेत गरेका छन्। ‘नत्र सोच्नुहोस् त, राज्यले पाँच अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ?’ मेयर शाहले प्रश्न गरेका छन्, ‘दुई सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’

उनले अहिले फोहोर व्यवस्थापनमा देखिएको अवरोध सतही भएको पनि बताएका छन् ।"२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?" बालेनले  अगाडि प्रश्न गरेका छन्।

बालेनले के लेखेका छन्?

फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो । यद्यपि, २०० भन्दा बढी प्रहरीहरूको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगियो । तर, केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरेडाँडा लैजान सकियो ।

केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरू छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?

यहाँ केही कमजोरी, केही गल्ति भएकै छ । सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरूले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरूको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।

पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरूको गर्नुपर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरूको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top