होमपेज / राजनीति
काठमाडौं । काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको छ ।बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापन सम्बन्धी कामबारे जानकारी नदिएको भन्दै आलोचना गरेका हुन् ।
शुक्रबारदेखि गाइजात्रा सुरु हुने भन्दै राति नै अस्थायी व्यवस्थापनको माग गरिएको छ। मेयर बालेन शाहले राखेका अजेन्डालाई पन्छाउँदै पहिले फोहोर व्यवस्थापनको विषय टुंग्याउनुपर्ने बैठकमा बोल्ने अधिकांशले बताएका थिए। आजको बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारेका थिए । तर, वडाध्यक्षहरुले भने फोहोर व्यवस्थापनबाहेक अरु विषयमा छलफल नै नगर्ने अडान लिए ।
‘मेयर साब मन्त्रालय जानुहुन्छ, सिसडोल जानुहुन्छ, कुन कुन ठाउँ जानुहुन्छ फोहोर सम्बन्धी कुरा गरिरहनुभएको छ’ उनले भने, ‘त्यो गर्दा आफ्नो टिमलाई लिएर जानुभएको छ ? हामीलाई मात्र होइन, फोहोर मैलाको टिमलाई सोध्दा पनि थाहा छैन भन्छन् ।’वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले भने।
अर्का वडाध्यक्षले फोहोर आज र अहिल्यै उठाउनुपर्ने बताए। उनले भने, 'भोलि जात्रा छ। हामीले के गर्ने हो गर्छौं। तर फोहोर उठाउँ।' कोर एरियामा ठाउँ नभएको बताउँदै अस्थायी फोहोर व्यवस्थापन गर्ने ठाउँ दिनसमेत कतिपय वडाध्यक्षको माग थियो।
काठमाडौं–७ का वडाध्यक्ष विमल होडा मेयर साहप्रति आक्रोशित शैलीमा पेश भए । उनको प्रस्तुति यस्तो थियो ।
‘सुरुमा त प्रमुख कार्यकारी अधिकृतले गरेको परिपत्र नै गाइजात्रा भयो । सभागृहमा वैठक भनेर परिपत्र गर्ने, अनि यहाँ मिटिङ बोलाउने ? बैठकको यत्रो एजेन्डा बनाउन सक्नुहुन्छ, फोहोरको एजेन्डा कहाँ गयो ? मेयरज्यूको अध्यक्षमा रहेको कार्यदल कहाँ छ ? कतिवटा वैठक गर्नुभयो ? के प्रगति भयो जानकारी दिनु पर्दैन ? यस्तो गलत कुरा नगर्नुस मेयरससा’ब । हामी पनि आफ्नो वडाका मेयर हौं । तपाईंले हामीलाई जानकारी दिनु पर्दैन ?’
त्यसपछि उपमेयर सुनिता डंगोलले मुख खोलिन् । उनले वडाध्यक्ष र मेयरको बीचमा बसेर मध्यमार्गी विचार राखिन् ।जात्राको समय भएकाले यसमा थप संवेदनशील हुनुपर्ने धारणा राख्दै भनिन्, 'भोलिसम्म अल्पकालीन रुपमै बाटो देखाउन नसक्ने हो भने त्यसको भागिदार हामी नै हुनुपर्छ। हाम्रो ध्यान गएको छ। प्राथमिकतामै राख्दा पनि समस्या आइरहेको छ।'