होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका उपमहासचिव सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागाभाग रहेको बताएका छन् ।
ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गरेका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए ।
कुनै बेला अर्थ मन्त्रालय जान कर्मचारीहरू हानथाप गर्ने गरेको उल्लेख गर्दै ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए।
‘अर्थ मन्त्रालयमा कर्मचारीहरू भागाभाग हुनुपर्ने परिस्थिति आएको हो । देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ । हामीले यो संसदमा पटक-पटक रेकर्ड गराइरहेका छौँ । तर, अर्थमन्त्रीजी घरि गभर्नर नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि हस्तक्षेप गर्नुहुन्छ । घरि उहाँको मातहत बस्न कोही पनि कर्मचारी तयार हुँदैनन् । यो कुराले सरकारलाई प्रधानमन्त्रीलाई कहीँकतै पोल्दैन ?,’ उनले भने ।