होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवदी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा कांग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेट भएको विषयालाई षड्यन्त्र बनाएर प्रचार गरिएको दाबी गरेका छन् ।
शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग उनले आउँदो निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला मात्र भएको बताए ।
आगामी संसदीय निर्वाचनपछि प्रचण्ड र आरजु आलोपालो प्रधानमन्त्री बन्ने र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने भन्ने सहमति भएको भन्दै फैलाएको हल्लामा सत्यता नरहेको उनको भनाइ थियो ।
प्रचण्डले झुटो कुरालाई अन्तर्राष्ट्रियस्तरमा समेत प्रचार गरिएको बताए । हुनै नसक्ने कुरालाई प्रचार गरिएको उनको तर्क छ ।
‘यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन । आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला,’ प्रचण्डले भने ।