होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन २०७९ बाट एकल मतका हिसाबले एमाले नै पहिलो रहेको दाबी गरेका छन्।
आज सुर्खेतमा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्ताे भनेका हुन।पोखरेलले नेकपा विभाजन भइसकेपछि नेकपा एमालेमात्रै नेकपाको निरन्तरता भएको दाबी गरेका छन् । महासचिव पोखरेलले माओवादी र समाजवादीका नेताहरुलाई एमालेमा फर्किन समेत आग्रह गरेका छन।
‘हिजो संविधान निर्माणपछि अब नेपालको राजनीति विकास र समृद्धिमा होमिनेछ र हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुनेछ भनेर निष्कर्ष निकालेका थियौं’, उनले भने, ‘तर, केही तत्वले नेकपाभित्र विग्रह पैदा गरे । पार्टी अध्यक्षविरुद्ध मोर्चाबन्दी गर्ने, घेराबन्दी गर्ने काम भयो । त्यसपछि एउटा पार्टीको नेता प्रचण्ड बन्नुभयो । अर्को पार्टीको नेता माधव नेपाल बन्नुभयो । नेकपा एकताको पक्षमा छैनन् भनेर अध्यक्ष ओलीमाथि आरोप लगाइयो ।’
पोखरेलले नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व लिन नपाएकाले कर्णालीका जनताले संघीयताको फाइदा लिन नसकेको बताए।‘एमालेले कर्णालीको सरकारको नेतृत्व गर्न पाएको भए यहाँको रूपरंग फेरिन्थ्यो,’ उनले भने, ‘कर्णाली पछाडि पर्नुमा एमाले जिम्मेवार होइन। अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्नेगरी लाग्न म यहाँका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दछु।