होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनमा बलजफ्ती गरिरहेको बताएका छन् ।
आज फेसबुकमा स्टाटस लेख्दै उनले गठबन्धनका नाममा कांग्रेस आफूहरूलाई पेलेर अघि बढेको टिप्पणी गरेका हुन् ।
“नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ति हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्,” राष्ट्रियसभाका सांसद समेत रहेका श्रेष्ठले भनेका छन्, “हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।”
नागरिकता विधेयक र गठबन्धनबारे नारायणकाजीको फेसबुक स्टाटस यस्तो छः
हिजो प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन विधेयक पारित गर्याे । संविधान जारी भएको ७ वर्षपछि नागरिकता विधेयक पारित भएको छ । यो ऐनको रूपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानहरूले संविधानअनुसार नागरिकताको प्रमाणपत्र प्राप्त गरी नागरिकताबिहीन हुनुको पीडाबाट मुक्ति पाउनेछन् । यो व्यवस्था छिट्टै हुनुपर्थ्यो । अब हुने भएको छ। यो सकारात्मक छ ।
तर यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत छ । नागरिकता विधेयक प्रतिनिधिसभाले राज्य व्यवस्था समितिमा पठाएको थियो । समितिले समितिभित्र र बाहिर पनि गम्भीर एवं व्यापक बहस गर्याे । त्यसमा सहमति हुन नसकेपछि बहुमतले वैवाहिक अङ्गीकृत नागरिकता महिलाको हकमा ७ वर्षपछि दिने र तत्कालै सबै व्यावहारिक काममा कुनै समस्या नपर्ने गरी परिचय पत्र दिने प्रावधान राख्यो । ७ वर्षको प्रावधान हाम्रा नेपाली महिला छोरी ,दिदिबहिनीहरूले विदेशी पुरुषसँग विवाह गरेकोमा छिमेकी देशहरूले ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने गरेको व्यवस्था समेतलाई ध्यान दिएर राखिएको थियो । नेपाली नागरिक महिलाले विदेशी पुरुषसँग विवाह गरेकोमा सम्बन्धित पुरुषलाई भने वैवाहिक अङ्गीकृत नागरिकता दिने व्यवस्था नै गरिएको छैन । यो अलग्गै विषष हो ।
नागरिकताजस्तो संवेदनशील विषष सकभर राष्ट्रिय सहमतिको आधारमा निर्णय होस् भन्ने मनसायले तत्काल प्रतिनिधिसभामा प्रक्रियामा लगिएको थिएन । यो ऐन निर्माणमा ढिला भएको कारणबाट छिटो प्रक्रिया अघि बढाउनपर्ने स्थिति नै थियो । त्यसका निम्ति सरकारले या त संसदभित्र सहमति कायम गरेर त्यसको आधारमा अघि बढाउनु पर्थ्यो या सम्बन्धित समितिले २ वर्ष लगाएर पठाएको प्रतिवेदन नै छलफल एवं निर्णय प्रक्रियामा लैजानु पर्दथ्यो ।
त्यसो नगरी सरकारले बहुमतको निर्णयसहित पठाइएको प्रतिवेदन तथा विधेयकलाई फिर्ता लिएर अल्पमतको विचार लागू गर्ने गरी कानुनी व्यवस्था गर्न नयाँ विधेयक अघि बढायो । अन्तर्वस्तुको कोणबाट अहिलेको प्रावधान उपयुक्त छैन भन्ने समितिको निष्कर्षको पक्षमा भएको राष्ट्रिय बहस त छँदैछ, लोकतान्त्रिक एवं संसदीय मूल्य तथा परिपाटीको कोणबाट पनि यो कार्य नितान्त गलत छ ।
सत्तारुढ गठबन्धनको बैठकमा कानुनी व्यवस्थाअनुसार मिल्ने भएमा समितिमा मतभेद रहेको वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी विषयलाई तत्काल केही समयका लागि थाँती राखी अहिले समस्याको रूपमा रहेको नेपाली नागरिक बाबुआमाको सन्तानले नागरिकता पाउने व्यवस्थाका लागि विधेयक अघि बढाउनुपर्थ्यो । अन्यथा समितिको प्रतिवेदनलाई नै प्रक्रियामा अघि बढाउनुको विकल्प थिएन । कुनै समितिले बहुमतले पारित गरेको विषष सरकारलाई मन परेन भने सरकारले उक्त विधेयक संसदबाट फिर्ता लिएर अल्पमतमा रहेको आफ्नो विचारअनुसारको विधेयक अघि बढाउने प्रवृत्ति हाबी भए लोकतन्त्र र संसदको विधि कसरी कार्यान्वयन होला ? यो गम्भीर विषष हो । तर तत्कालीन स्वार्थहरूले हामीलाई कति निरङ्कुश बनाउँदै लगेको छ भन्ने सन्दर्भमा यो ज्वलन्त उदाहरण हो ।
मैले आफ्नो यो दृष्टिकोण राष्ट्रियसभाको बैठकमा बोल्दा पहिले नै प्रस्तुत गरेको थिएँ र सम्बन्धित सबैलाई अपील पनि गरेको थिएँ । तर त्यसो हुन सकेन ।