ट्रेण्डिङ

होमपेज / राजनीति

विवादै विवादमा बदनामी कमाएर राजीनामा दिएका जनार्दन

म के कारण अनैतिक?:जनार्दन शर्मा

नेपालगाथा २०७९ असार २२ गते बुधबार १९:१३:१४ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा २०७८ असार ३० गते अर्थमन्त्री नियुक्त भएका थिए। अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा सामेल गराएर करका दर हेरफेर गरेको आरोप लागेका शर्माले राजीनामा दिने बेलासम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहे ।‘ममाथि हुने छानबिन कार्यलाई मैले सहयोग गर्छु, संसदीय मात्रै होइन म हजारौँ छानबिनका लागि तयार नै छु,’ उनले भने।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उनी थप शंकाको घेरामा परेका थिए।

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि संसदीय समिति गठन गर्नुपर्ने र अर्थमन्त्रीले पनि राजीनामा दिनुपर्ने अडान लिएर संसद् बैठक अवरोध गर्ने तयारी गरेको थियो । प्रतिनिधि सभामा एमालेको लगातार विरोधपछि सभामुख अग्नि सापकोटाले संसदीय छानबिन समिति बनाएका छन्।सभामुख सापकोटाले अर्थमन्त्रीमाथि छानबिन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट ४ जना, सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट २/२ जना तथा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक÷एक जना सदस्य रहने गरी ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठनको प्रस्ताव प्रस्तुत गरे ।

समिति बनेपछि संसदमा सम्बोधन गर्दै अर्थमन्त्रीको हैसियतमा सदनमा उपस्थित हुन नहुने र पूर्व अर्थमन्त्रीको हैसियतमा छानबिन समितिले बयान लिने नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका थिए ।

सभामुखलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष दलको हैसियतले पटक–पटक आगामी आर्थिक वर्षको बजेट निर्माणमा भएका अनियमितताका विषयमा हामीले प्रश्न उठाएका थियौ । यसै महिनाको २० गते संसद्मा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सविस्तार कुरा उठाई पनि सक्नुभएको छ । सचेतकले आवश्यक कारबाहीका लागि सभामुखमार्फत रुलिङ पनि गराइसक्नुभएको छ ।

सबै निकायले सडकमा आवाज उठाए । एक महिनादेखि नेपाली सञ्चारमाध्यमको प्रमुख शीर्षक नै यही बनिरहेको छ । नागरिक समाजका अगुवाले गम्भीरताका साथ यसै विषयलाई उठाइरहनुभएको छ । सबैले यसलाई चासो देखाइरहनुभएको छ र प्रश्न पनि गरिरहनुभएको छ । सिंगो मुलुकले यसलाई अत्यन्त गम्भीरताका साथ लिइरहेको छ ।

पछिल्ला दिनमा स्वयम् सत्तारुढ दल र विशेष गरी नेपाली कांग्रेसका नेताले पनि यस विषयमा आफ्नो धारणा राख्नुभएको छ । सभामुखको सक्रियतामा संसदीय छानबिन समिति गठन भएको छ । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट सम्माननीय सभामुखसहित सिंगो संसद्लाई धन्यवाद दिन चाहन्छु । जुन यहाँले महत्त्वपूर्ण काम गर्नुभयो । तर, लगत्तै अर्थमन्त्रीलाई बोलाउँदै हुनुहुन्छ यसप्रति हाम्रो गम्भीर चासो छ ।’

उनले अर्थमन्त्रीले राजीनामा दिएरमात्रै संसद्मा बोल्न पाउने बताए ।

करको दर परिवर्तनमा अनधिकृत व्यक्तिलाई अधिकार दिएको र सीसीटीभी फुटेज हटाएको पछिल्लो विवादले जनार्दन शर्मालाई सत्ताबाट बाहिर पुर्‍यायो।संसदको रोस्ट्रममा उभिएर राजीनामा घोषणा गरेका शर्माले आफ्नो बचाउमा खास तर्क र तथ्य प्रस्तुत गर्न सकेनन् । 

अर्थमन्त्रीको सम्बोधनको मुख्य अंश यस्तो थियो 

म संसदीय छानबिन समितिको स्वागत गर्न चाहन्छु । अर्थमन्त्रीको हैसियतले आफूमाथि उठेका प्रश्नको जवाफ दिन म तयार छु । बोल्न नै नपाउने नैतिकता के कारणले गुमाएँ ? न मैले संकट परेका जनतामाथि कोरोनाको बेला बदमासी गरे । न मैले करको दर हेरफेर गर्दा कुनै व्यापारीलाई सामान भित्र्याउने अनुमति दिएँ । न मैले बच्चाको दूधको दर घटाएर चकलेटको दर बढाएँ ? यो एउटा राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो ।

एमालेका सांसद योगेश भट्टराईलाई लक्षित गर्दै अर्थमन्त्री शर्माले भने, ‘उहाँले आफ्नो आदेश जारी गर्नुभयो । सैनिक नेतृत्वको शैलीमा दोषी करार गर्नुभयो । के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । म संसद्बाट आम नागरिकलाई आग्रह गर्दै भन्न चाहन्छु, विषय कसरी आए र कसरी भ्रम सृजना गरियो ? म मेरो राजीनामा मागिएको विषयलाई सम्मान गर्छु । तर मेरो अनुरोध के छ भने तथ्यको गहिराइमा पुग्नै पर्छ । यदि पुगिएन भने कतै फेरी अन्याय हुन्छ कि भनेर सोच्नका लागि अनुरोध गर्दछु ।

‘आज म मेरो विषयमा भन्न चाहन्छु । समितिले छानबिन गरोस् । मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन । तोकिएका आधिकारिक व्यक्तिबाट बजेट निर्माण गरिएको छ । यसलाई अर्को झुटा साबित गर्न सकिँदैन । करको दररेट निर्धारण गर्ने क्रममा दुई जना सचिव र दुई वटा विभागका महानिर्देशकलाई नीतिगत रूपमा के गर्ने भनेर निर्देशन गरेको छु ।

‘जुन रात घटना भएको भनिएको छ, म साढे ११ बजे राति क्वार्टरमा गएर बिहान ८ बजे मन्त्रालयमा पुगेको थिएँ । त्यहाँ पुग्दा सचिव सुतिरहेको र डिजी काम गरिरहेका र सहयोगीले सहयोग गरिरहेका थिए । अब भन्नुस् कुन सीसीटिभीको क्षमता कति हुन्छ मलाई के थाहा हुन्छ ? कुन मन्त्रीले कुन सीसीटिभीको क्षमता कति हुन्छ भनेर आउने बित्तिकै जानकारी राख्छ होला ? यस्तो भ्रम खारेज गर्न चाहन्छु । मैले त्यसको जबाफदेहिता कसरी दिन्छु ? त्यो डिलिट गर्न जरुरी पनि छैन र ज्ञान पनि छैन ।

‘के नेपालमा तस्करी घटाउनु अनैतिकता हो ? यहाँहरू सबैले देखिरहनुभएको छ, विभिन्न पत्रपत्रिकामा आउने गरेका छन् । यसअघि कसरी सुपारी तस्करी हुने गरेको थियो ? त्यो मैले घटाएको छु । कुन व्यापारीले फाइदा लियो त्यो पत्ता लगाइयोस् । मात्रै देशको उत्पादन र औद्योगीकरणका लागि गरियो । आम किसानको उत्पादन वृद्धि गर्ने उद्देश्यले गरिएको छ । उत्पीडित वर्गका लागि काम गर्ने बजेट प्रस्तुत गरिएको छ । यो के अनैतिकता हो ? यो कुनै अपराध हो ? यसरी रोजगारी वृद्धि गर्ने, गरिबी निवारण गर्ने कुरा अघि सारिएको छ ।

यो बजेटको कार्यान्वयनले धेरै फाइदा पुग्नेछ । यसको लागि सिंगो राज्य संयन्त्र अघि बढ्न जरुरी छ । यसले सबैलाई उत्साहित बनाएको छ । के सबैलाई उत्साहित गर्ने बजेट ल्याउन पाइँदैन ?

म एउटा होइन, हजारौँ छानबिनका लागि तयार छु । एउटा राजनीतिक व्यक्ति भएको नाताले हिजो यस्ता विषय नउठेका होइनन् । आज आम नागरिकले विषय उठाएका कारण आम नागरिकलाई भ्रम सृजना गरिएका कारण देशको पक्षमा काम गरेको कारण यसलाई सत्य तथ्य रूपमा छानबिनले स्पष्ट गर्नेछ । देशको पक्षमा उभिएर निरन्तर अघि बढिरहेको व्यक्तिमाथि लगाइएका आरोप आफ्नो तर्फबाट खारेज गर्दछु । छानबिन समितिले गर्ने काममा पूर्ण रूपमा सहयोग गर्नेछु ।

यस्ता छानबिन समिति बन्दा यसअघि मन्त्री पदमा रहेरै छानबिन गर्ने गरिएको थियो । छानबिन समिति बनाउने कुरा आज आएर मात्रै भयो । सभामुखको पहलमा भएको छानबिन समितिलाई मार्ग प्रशस्त गर्दै आफूले गल्ती नगरेको स्पष्ट पार्दै राजीनामा दिन चाहन्छु । म देशको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । मेरो राजीनामा माग्ने सबैलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो अन्तिम अनुरोध छानबिन गर्दा तथ्यमा गएर छानबिन गरिदिनुहोला । धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top