होमपेज / राजनीति
काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्रचार भइनसकेको जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताइन् ।'पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भैरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं, ढुक्क हुनुहोस्,' लम्सालले भनिन्, 'एसपीपीको विषयमा सरकारले गरेको निर्णय प्राप्त भएको छ ।'
यसअघि सन् २०१५ र सन् २०१७ मा नेपाली सेनाले एसपीपीमा सहभागी गराउन काठमाडौंस्थित अमेरिकी दूतावासमा पत्राचार गरेको थियो । त्यसपछि अमेरिकाले सन् २०१९ मा नेपाललाई एसपीपीमा सहभागी गराएको थियो ।
सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेको थियो । त्यसैअनुसारको जानकारी परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जनाउने निर्णय गरेको थियो ।