होमपेज / राजनीति
काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।
शनिबार ललितपुरमा विशेष भेलाको आयोजना गरी स्वतन्त्र उमेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् ।भेलामा स्वतन्त्र उम्मेदवारी राष्ट्रिय अभियानका संयोजक डम्बर साहुले ६ पानाको अवधारणापत्र राखेका छन् ।स्वतन्त्रहरूले कस्तो राजनीतिक व्यवस्था खोजेका हुन ? भन्ने चर्चा चलिरहेकै बेला सो अवधारणापत्रमा भने संविधान र व्यवस्थाको विकल्प नखोजिने विषय उल्लेख छ ।
उनीहरूले अहिलेका राजनीतिक दलका नेतृत्वमा रहेकाले सही किसिमले राज्य संचालन गर्न नसकेको तर दलीय व्यवस्थाको विकल्प अरु हुन नसक्ने धारणा राखेका छन।दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले बताएका छन।
सायमीले भने, ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ। एक व्यक्तिले कानुन बनाउन सक्दैन। त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो। र, त्यसको आवश्यक्ता छ । दल ठीक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ। दलको विकल्प दल नै हो।’
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमामा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यकता छ भन्ने निष्कर्षका साथ आफू भेलामा सहभागी भएको रवीन्द्रकुमार श्रेष्ठले बताए ।