होमपेज / राजनीति
काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् ।
केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका सांसद गौतमले कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरूको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।
नेपाललाई समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टीकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरि क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ ।’
उनले आफू क्रिटिकल व्यक्ति भएको उल्लेख गर्दै भने, ‘मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जिवराज आश्रितको पनि आलोचना गरेँ । म जोजोसँग सम्बन्धित भएको छु–उहाँहरूसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो ।’