होमपेज / राजनीति
पञ्चपुरी, सुर्खेत । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । पञ्चपुरी नगरपालिका वडा नं. ९ का गंगाधर बाँस्तोला नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
बाँस्तोलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी प्रवेश गराउनुभएको हो । बाँस्तोलालाई पार्टी प्रवेश गराउँदै नेता कँडेलले प्रगतिशील, अग्रगामी र समाज विकासको हिस्सेदारहरु जुनसुकै समयमा पनि नेकपा एमालेमा प्रवेश गर्न सक्ने बताउनुभयो । साथै उहाँले योग्यता र क्षमताको आधारमा उपयुक्त जिम्मेवारी प्रदान गर्ने पनि बताउनुभयो ।

पन्चपुरी नगरपालिकामा पार्टीका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट तथा छलफलमा नेता कँडेलले चुनावको मिति नजिकिंदै गर्दा मतदातालाई अनेको लोभ र प्रलोभनमा पार्न सक्ने हुँदा सचेत र सजग रहन समेत आग्रह गर्नुभयो । समाज परिवर्तन गर्ने, विकास निर्माणमा अग्रगामी छलाङ्ग मार्ने र जनहितमा काम गर्ने पार्टी नेकपा एमाले हो भन्ने जनताले बुझ्दा बुझ्दै पनि अनेकौ जालझेलले मतदान अर्कै हुनसक्ने स्थितिबाट जोगिन र जोगाउन समेत नेता कँडेलले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
