होमपेज / राजनीति
सुर्खेत । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले पञ्चपुरीले “सक्षम, सवल र समृद्ध पञ्चपुरीको आधार, नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार” भन्ने नारासहित आइतबार एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले एक कार्यक्रमका बीच आइतबार घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे। घोषणापत्र सार्वजनिक गर्दै नेता रावतले नेकपा एमालेका उम्मेदवारहरूले विजय हासिल गरेमा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न हुने बताउनुभयाे ।
घोषणापत्रमा भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिलाउनुका साथै आर्थिक, सामाजिक विकासमा प्रत्येक नागरिकले अनुभुति गर्ने गरी काम गर्ने संकल्प गरिएको छ । यसैगरी साना उद्योग र निजी पुँजीलाई परिचालन गरी स्वरोजगार सिर्जना गर्ने, स्वास्थ्य, शिक्षा र खानेपानीको पहुँच प्रत्येक नागरिकको अधिकारको रुपमा स्थापित गर्ने र नगरबासीलाई ५ वर्षभित्र आत्मनिर्भर र सक्षम नगरपालिकाको रुपमा विकास गर्ने आधार निर्माण गर्ने संकल्प गरिएको छ ।
प्रत्येक वडामा शैक्षिक जनशक्तिसहित गुणस्तर र सुलभ शिक्षा प्रणालीको व्यवस्था गरी माध्यमिक शिक्षा सञ्चालन गर्नुका साथै नगरभित्रका स्वास्थ्य चौकी र आवश्यक जनशक्ति व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माण गरी स्वास्थ्यमा आम नागरकको सहज पहँुचको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
नगर क्षेत्रभित्र रहेका आन्तरिक सडकलाई थप व्यवस्थित बनाई १२ महिना नगरक्षेत्रभित्र आवगमनका लागि सडक, नालि, ग्राबेल र पिजका लागि अल्पकालिन, त्रि–वर्षीय तथा पञ्चवर्षीय सडक गुरु योजना बनाइ तत्काल कार्यान्वयनमा ल्याउनुका साथै मौसमी तरकारी, फलफूल, अफ सिजनमा बिक्री तथा भण्डारण गर्नका लागि बहुमुखी प्रकारको बृहत कोल्ड सेन्टर निर्माण गरी कृषि उत्पादनलाई थप प्रभावकारी बनाउने समेत घोषणापत्रमा समेटिएको छ ।
ज्येष्ठ नागरिकले पाउने वृद्ध भत्तासहित अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायतले पाउने सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने भनिएको घोषणापत्रमा नगरपालिकाका कामलाई प्रभावकारी, छिटोछरितो र पारदर्शी बनाउन प्रविधिलाई बढी भन्दा बढी प्रयोगमा ल्याइने उल्लेख गरिएको छ ।
नेकपा एमाले पञ्चपुरीले यही वैशाख ३० गते हुन गइरहेकाे स्थानीय तहकाे निर्वाचनका लागि नगरप्रमुखमा धनबहादुर थापा र उपप्रमुखमा दुर्गाकुमारी रिमाल (रेग्मी) लाई उम्मेदवार बनाएकाे छ ।