होमपेज / राजनीति
सुर्खेत । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार मनोनयन कै दिन विजयी शुरुवात गरेको छ ।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध बन्नुभएको हो ।
अध्यक्षमा निर्विरोध हुने गुरुङ नेकपा एमाले डोल्पाको उपसचिव हुनुहुन्छ । उहाँका अनुसार गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्विरोध हुनुभएको छ । गुरूङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन् ।
गुरूङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ ।
त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । वडा नम्बर ७ मा पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । यद्यपि निर्वाचन आयोगले उनीहरूको निर्विरोध निर्वाचितको सूचना प्रकाशित गर्न बाँकी रहेको छ ।
ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध
पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा पनि एक वडाध्यक्ष निर्बिरोध निर्वाचित भएका छन् । देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन् । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।
ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बन्नुभएको छ । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध हुनुभएको छ । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।
वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।
‘मर्निङ शो द डे’ भने झैं नेकपा एमालेले उम्मेदवार मनोनयन गरेकै दिन विजयी शुरुवात गरेको छ । यसले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालले अधिकांश स्थानमा विजयी हासिल गर्न सक्ने आंकलन गर्न सकिन्छ ।